काठमाडौंमा किन महँगियो तरकारी ? यसो भन्छन् उपभोक्ता (भिडियाे)
वर्षासँगैको विपद्का कारण काठमाडौंमा तरकारीको मूल्य बढेको छ ।
वर्षा लागेसँगै मुलुकभर बाढीपहिरोका कारण सडकहरू अवरूद्ध हुँदा काठमाडौंमा तरकारीको मूल्य बढ्न थालेको हो ।
बाढीपहिरोका कारण उपत्यकाभन्दा बाहिरको तरकारी काठमाडौं आउन नसक्दा उपत्यकामा तरकारीको मूल्य वृद्धि भएको छ । वर्षातका कारण बाढीपहिरो आउँदा हरेक वर्ष काठमाडौंमा तरकारीको मूल्य वृद्धि हुने गर्छ । तरकारीको मूल्य वृद्धि भएसँगै उपभोक्ताको चुल्हो पनि महँगो हुन गएको छ ।
केही दिनदेखि लौका, बोडी, काउली, घिरौंलालगायतको मूल्य वृद्धि भएको छ । कालीमाटी तरकारी बजारमा तरकारी खरिद गर्न आएका उपभोक्ताहरूले वर्षायाममा तरकारीको मूल्य वृद्धि भएको बताए । उनीहरूले बजारमा गोलभेन्डा, घिरौंला, काउलीलगायत तरकारीको मूल्य बढेको बताए । उपभोक्ताहरूले शुक्रबारको बजारमा गोलभेँडाबाहेक अन्य तरकारीको मूल्य प्रतिकिलो सय रूपैयाँभन्दा कम नभएको गुनासो गरे ।
मुलुकमा नै उत्पादन भएको गोलभेँडाको मूल्य उच्च रूपमा वृद्धि भइरहेको अवस्थामा शुक्रबार भने गोलभेँडा सस्तो भएको छ । सानो गोलभेँडा कालीमाटी तरकारी बजारमा १६.६७ रूपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । टनेलमा उत्पादन भएको स्वदेशी सानो गोलभेँडा प्रतिकिलो २४.२० रूपैयाँमा बिक्री भएको छ ।
त्यस्तै स्वदेशमै उत्पादन भएको ठूलो गोलभेँडा भने ११६.६७ रूपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । कालीमाटी तरकारी बजारका अनुसार शुक्रबार रातो आलु ६९.६०, मुढे रातो आलु ५१, सेतो आलु ४९, प्याज ९२, गाजर ९६, बन्दा ४५, स्थानीय काउली ७६, ज्यापु काउली ९६, सेतो मुला ३६, लाम्चो भान्टा ८६, तने बोडी ११०, घिउ सिमी १६६ र घिउ सिमी हाइब्रिड १७० रूपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
त्यस्तै राजमा घिउ सिमी १४५, तिते करेला ८२, लौका ९०, परवर ७६, चिचिण्डो ६६.६७, घिरौंला ११६, झिगुनी ७६.६७, पाकेको फर्सी ६८.६७, डल्ले फर्सी ८६.६७, भिण्डी ११०, पिँडालु ९६.६७, स्कुस ९६, रायो साग १८३.३३, कन्ये च्याउ १८०, डल्ले च्याउ ३०० र राजा च्याउ २९० रूपैयाँ प्रतिकिलो कारोबार भएको छ ।
यस्तै निउरो ११५, ब्रोकाउली ११०, कटहर ४६.६७, भेडे खुर्सानी ११६, अदुवा २३० र स्वदेशी लसुन २१० रूपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
हेर्नुस् भिडियाे
प्रतिक्रिया