पहिरोले फक्ताङलुङ गाउँपालिका केन्द्रमा क्षति
फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमापहिरोले क्षति भएको छ । गए राति वर्षासँगै खसेको पहिराले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो ।
अविरल वर्षासँगै राति २ बजे गएको पहिरोले फक्ताङलुङ गाउँपालिका भवनसँगै रहेका घरमा क्षति भएको फक्ताङलुङका अध्यक्ष राजन लिम्बूले जानकारी दिए ।
गाउँपालिका कार्यालयसँगको सुवास लिम्बूको घर तथा होटल पूर्ण रूपमा क्षति भएको छ । पार्किङ गरिएका गाउँपालिकाका गाडी र मोटरसाइकल पुरिएका गाउँपालिका अध्यक्ष लिम्बूले बताए ।
अध्यक्ष लिम्बूले भने, सामान्य पहिरो राति १२ बजेदेखि सुरु भए पनि ठूलो पहिरो राति २ बजे गएको थियो । पालिका केन्द्र आवासीय क्षेत्रका बासिन्दा समयमै सुरक्षित क्षेत्रमा जान सफल भएकाले मानवीय क्षतिबाट बच्न सकियो ।
बाढीले बिजुलीको पोल बगाएको, पशुचौपाया पहिरामा परेका तथा क्षतिको विवरण सङ्कलन हुन बाँकी रहेको तापेथोक प्रहरी चौकी प्रमुख सुरेश सिंजालीले बताए । उनले भने, हाम्रो चौकी उच्च जोखिममा छ । पहिरो खस्न थाल्यो, नजिकबाट बग्ने तमोरमा पानीको तह बढ्दै गएकाले बाढी र पहिराको जोखिम तापेथोक छ ।
प्रतिक्रिया