तीन देशबीच विद्युत् व्यापार सम्झौताका लागि भारत तथा बंगलादेशका ऊर्जामन्त्री नेपाल आउँदै

भारतका संघीय ऊर्जामन्त्री मनोहरलाल खट्टर नेपाल भ्रमणमा आउने भएका छन् । यही २८ जुलाइ (१३ साउन) मा उनी नेपाल आउन लागेका हुन् । २८ जुलाइ मै बंगलादेशका ऊर्जामन्त्री नसरुल हमिद पनि नेपाल आउने भएका छन् ।

मन्त्री खट्टरले नेपाल–भारत–बंगलादेशको त्रिदेशीय बिजुली व्यापार सम्झौतामा सहभागिता जनाउने बताइएको छ ।

त्रिदेशीय बिजुली व्यापारलाई अन्तिम औपचारिक रूपमा दिन भारत र बंगलादेशका ऊर्जामन्त्रीहरू नेपाल आउन लागेका हुन् ।

नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच सम्झौता हुन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । सम्झौतासँगै नेपालले पहिलो पटक डलरमा बिजुली बिक्री गर्नेछ ।

‘मन्त्रीहरूको उपस्थितिमा काठमाडौंमा ४० मेगावाट विद्युत् बिक्री सम्झौता (पीएसए) हुनेछ भने सम्झौतापछि जुलाई २९ र ३० मा पोखरामा सहसचिवस्तरीय र सचिवस्तरीय बैंठक बस्ने कार्यक्रम तय भएको छ ।

नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच सम्झौता हुन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । सम्झौतासँगै नेपालले पहिलो पटक डलरमा बिजुली बिक्री गर्नेछ ।

नेपालका ऊर्जामन्त्री दीपक खड्का, भारतका विद्युत् मन्त्री मनोहर लाल र बंगलादेशका ऊर्जा तथा खनिज संसाधन राज्यमन्त्री नसरुल हमिदको उपस्थितिमा बिजुली खरिदबिक्रीको सम्झौता हुने मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले बताए । ‘मन्त्रीहरूको उपस्थितिमा काठमाडौंमा ४० मेगावाट विद्युत् बिक्री सम्झौता (पीएसए) हुनेछ,’ उनले भने, ‘सम्झौतापछि जुलाई २९ र ३० मा पोखरामा सहसचिवस्तरीय र सचिवस्तरीय बैंठक बस्छौं ।’

नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारी भएको झन्डै ६ वर्षपछि विद्युत् निर्यातले अन्तिम रूप लिन लागेको हो । प्राधिकरणले वर्षायामको ५ महिना अर्थात् हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशलाई बिक्री गर्नेछ । हरेक वर्ष ५ महिनामा कुल १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ । प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट (करिब ८ रुपैयाँ ५५ पैसा, बुधबारको विनिमय दरअनुसार) पाउनेछ । ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर (१ अर्ब २३ करोड, बुधबारको विनिमय दरअनुसार) आम्दानी हुने प्राधिकरणले जनाएको छ ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । अर्थात् बंगलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ ।

प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै आयोजनाले भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका छन् ।

बंगलादेशले गत असार २४ मा ४० मेगावाट विद्युत् खरिदबिक्रीका लागि सम्झौता गर्न प्राधिकरणलाई पत्राचार गरेको थियो । बीपीडीबीले १६ पुस ०८० मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायबीचको त्रिपक्षीय सम्झौताअनुसार हुने गरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको थियो ।

प्राधिकरणले माघ दोस्रो साता विद्युत् बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्रसम्बन्धी कागजात पेस गरेको थियो । त्यसपछि प्राधिकरणको टोली र बीपीडीबीअन्तर्गतको बोलपत्र (बिड) मूल्यांकन समितिबीच गत फागुन १० मा ढाकामा वार्ता भएको थियो ।

नेपालले प्रतियुनिट बिजुलीको मूल्य ६.७० अमेरिकी सेन्ट प्रस्ताव गरेको थियो । नेपालले भारतलाई बेचेको भन्दा कम मूल्यमा नदिने अडान राखेपछि बैठकमा मूल्यको सहमति जुटेन । तर पछि सिंगापुरमा विश्व बैंकले आयोजना गरेको सार्कका ऊर्जा सचिवस्तरीय बैठकका क्रममा भएको द्विपक्षीय छलफलमा बंगलादेश नेपालले प्रस्ताव गरेको मूल्यमा केही घटेर ६.४० अमेरिकी सेन्टमा बिजुली खरिद गर्न सहमत भएको थियो ।

नेपालले भारतलाई मध्यकालीन सम्झौताअनुसार प्रतियुनिट भारु ५ रुपैयाँ २५ पैसा (८ रुपैयाँ ४ पैसा रुपैयाँ) मा बिजुली बिक्री गर्दै आएको छ । भारतीय रुपैयाँमा हेर्ने हो भने नेपालले बंगलादेशलाई प्रतियुनिट भारु ५ रुपैयाँ ३१ पैसा (८ रुपैयाँ ४९ पैसा) मा बिजुली बेच्न लागेको प्राधिकरणले जनाएको छ । मूल्यमा सहमति भए पनि गत जेठ २९ मा मात्रै बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिदसम्बन्धी समिति (सीसीजीपी) ले नेपालबाट आयात गरिने विद्युत्को मूल्य स्वीकृत गरेको थियो ।

पेस गरिएका बोलपत्रसम्बन्धी कागजात मूल्यांकन गरी त्यसलाई सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी दिँदै बीपीडीबीले बोलपत्र स्वीकार गर्ने आशयको सूचना असार २४ मा प्राधिकरणलाई दिएको थियो । प्राधिकरणले पनि बोलपत्र स्वीकार गरेको लिखित सूचना बीपीडीबीलाई दिएको थियो । लगत्तै बीपीडीबीले विद्युत् बिक्री सम्झौताको मस्यौदा प्राधिकरणलाई पठाएको थियो । प्राधिकरणले मस्यौदा पाएसँगै सम्झौता मिति तय गरेर बीपीडीबीलाई निमन्त्रणासहित बुधबार पत्र पठाएको हो ।

बंगलादेशको मन्त्रिपरिषद्को आर्थिक मामिलासम्बन्धी समितिले गत मंसिर २० मा नेपालबाट ४० मेगावाट बिजुली आयात गर्ने प्रस्तावलाई सैद्धान्तिक स्वीकृत गरेको थियो । सोहीअनुसार मूल्यलाई प्राथमिकतामा राखेर बिक्रीका लागि प्रस्ताव पठाउन बंगलादेशले नेपाललाई पत्र पठाएको थियो । प्राधिकरणले माघको दोस्रो साता बिक्री प्रस्ताव पठाएको थियो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *