त्रिशूलीमा बेपत्ता बसका थप दुई यात्रुको शव भेटियो, १४ को सनाखत

गत शुक्रबार बिहान भरतपुर महानगरपालिका-२९ सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका थप दुई यात्रुको शव भेटिएको छ।

बिहीबार भरतपुर महानगरपालिका-२६ शिशुवार क्षेत्रस्थित नारायणी किनारमा एक पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

त्यसैगरी नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी व्यारेज पुलमा एकजना महिलाको शव भेटिएको छ ।

ब्यारेज पुलको १० नम्बर ढोकानजिक बिहीबार साँझ ६ बजे करिब ३५ वर्षीया महिलाको शव भेटिएको हो ।

ती दुवै शवको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए ।

दुवै शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ । यससँगै दुर्घटनापछि भेटिएका शवको संख्या २१ पुगेको छ।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका थिए । दुवै बसको पनि अवस्था अहिलेसम्म अज्ञात छ ।

जिल्ला प्रहरी कार्यालय चितवनमा अनुसार अहिलेसम्म २१ शव भेटिएका छन्। तीमध्ये १४ शवको सनाखत भएको छ। एक महिलासहित सात पुरुषको सनाखत भएको छैन ।

प्रहरीका अनुसार अहिलेसम्म नवलपुरमा १५, चितवनमा पाँच र पश्चिम नवलपरासीमा एकसहित २१ शव भेटिएका हुन् । जसमा तीन महिला, एक बालक र १७ पुरुष छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर