आफैंले चलाएको देश कसरी ‘कसले’ चलायो ?

नवोदित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नाे पूर्वार्द्धमै राम्रो जनविश्वास पायो । २०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट प्रत्यक्षतर्फ ७ सिट जितेको उसका अहिले समानुपातिकसहित २१ सांसद छन् । २०८० वैशाखमा सम्पन्न उपनिर्वाचनबाट हाल पार्टी उपसभापति रहेका स्वर्णिम वाग्ले तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित भएपछि प्रत्यक्ष निर्वाचित सांसद संख्या ८ पुग्यो ।

उसको पक्षमा देखिएको जनविश्वास र आकर्षणले रास्वपालाई वैकल्पिक शक्तिका रूपमा पनि हेरियो । यसबीच यो पार्टी दुईपल्ट महत्त्वपूर्ण पदसहित सरकारमा सहभागी भइसकेको छ । अझ पार्टीका सभापति रवि लामिछाने त दुईपल्ट नै उपप्रधानसहित गृहमन्त्री भए । सत्ता समीकरणमा आएको फेरबदलले अहिले उनी सत्ताबाहिर छन् ।

तर, सत्ताबाहिर आएपछिको उनको हर्कतले भने ‘जुन जोगी आए पनि कानै चिरेका’ उखानलाई चरितार्थ तुल्याइरहेको छ । सत्तामा रहँदा त्यसभित्रका जे पनि ठीक भन्ने र सत्ताबाहिर भएपछि त्यसैका विरूद्ध बोल्ने नेताहरूको प्रवृत्तिलाई उनले पनि पछ्याएका छन् । पहिलोपल्ट गृहमन्त्री हुँदा दोहोरो नागरिकताको मुद्दाले सत्ताबाट बहिर्गमित भएपछि पत्रकार सम्मेलन नै गरेर कुण्ठा पोखेका उनले नयाँ नागरिकता लिएर उपनिर्वाचन लडे र देशमै सबैभन्दा बढी मत ल्याउने सांसद भएर सानदार जिते पनि ।

तर, दोस्रोपल्ट निर्वाचित भएर दुईपल्ट देशको गृह प्रशासनको नेतृत्व गरे पनि उनको पुरानो शैली भने बदलिएको छैन । आफू र आफ्नो पार्टीलाई फरक दाबी गर्ने उनमा फरक भने देखिएको छैन । पदमा रहँदा बोल्नुपर्ने कुरा पदबाट बाहिर आएपछि बोल्नुले के अर्थ राख्छ र ? यस्तै अर्थहीन बोली बिहीबार उनले बोलेका छन् ।

बिहीबार पार्टीको नीति मन्थनबारे सम्बोधन गर्दै उनले सरकारमा ४ महिनाको अवधिमा बस्दा कुन शक्तिबाट देश चल्छ भन्ने कुरा राम्रोसँग बुझेकाे ‘बेतुक बात’ गरे । उनले ‘गोपनीयताको शपथ’ ग्रहण गरेकाले सबै कुरा भन्न नमिल्ने भन्दै सरकारमा बस्दा कुन शक्ति हाबी हुन्छ र कुन शक्तिबाट सरकार चलेको छ भन्ने कुराको जानकारी पाएको बताए ।

हेर्नुहाेस् भिडियाे 

‘अघिल्लो पटक पर्याप्त थिएन । ३४ दिन म (गृहमन्त्री) भएँ । अरू साथीहरू २४ दिनजति (मन्त्री) हुनुभयो । त्यो कुनै पर्याप्त समय नै थिएन । अहिले जुन चार महिनाको अवधि हामी सरकारमा बस्यौं, यो अवधिले अब चाहिँ हामीलाई धेरै कुरा बुझ्न सहयोग मिलेको छ,’ सभापति लामिछानेले भने, ‘पद र गोपनीयताको शपथ खाएका छौं सबै कुरा सार्वजनिक गर्न त मिल्दैन । तर देश कसले चलाएको रहेछ भन्ने कुरा राम्रोसँग थाहा पायौं । यो ठूलो पाठ सिकेका छौं । यसबाट राज्यलाई घाटा लगाएका छैनौं । राज्यलाई अफ्ठ्यारोमा पारेका छैनौं । २१ जना भ्रष्टहरूलाई रोकेर हामी संसदमा आएका छौं ।’

उनले नयाँ राजनीतिक दल भएर किन सरकारमा गएको भन्ने प्रश्नहरू आएको भन्दै सरकारमा गएर नै सरकारभित्रका गल्तीहरू बुझिने बताए ।

‘नयाँ राजनीतिक दल भएर सरकारमा किन गएको भन्छन् । सरकारमा किन गएको भनेको भन्यै छन्,’ उनले भने, ‘पुराना राजनीतिक दलहरू सँगसँगै उभिँदाखेरि गल्ती केही नगर्दा पनि गाली खानेबाहेक केही काम भएन । तर हामीलाई त केही सिक्नु थियो । हामीले त केही गर्नु थियो । हामीलाई त हेर्नु थियो । सिंहदरबार कसरी चलाउने भन्ने कुरा जान्नका लागि सिंहदरबार कसरी चल्दैछ भन्ने कुरा हेर्नै पर्छ ।’

यति धेरै कुरा सिकेर र बुझेर दुईपल्ट देशको गृह प्रशासन हाँकिसकेका लामिछानेलाई देश कुन शक्तिले चलाउँछ भन्ने बुझेर पनि यसको खुलासा गर्न चाहिँ कसले रोक्यो ? शपथ खाएर भ्रष्टाचार गर्नसम्म नरोक्ने यो देशका नेतालाई ‘गोपनीयताको शपथ’ खाएको छु भनेर मुलुकको हित हुने कुरा खोल्न मिल्दैन भन्नु पक्कै शोभनीय होइन ।

कहिले दोहोरो नागरिकता र राहदानी विवाद त कहिले सहकारीको बचत अपचलनमा मुछिएका लामिछानेले देशको जिम्मेवार पदमा पुगिसकेर पनि दोषजति जम्मै अरूको भन्नु श्रवणयोग्य कुरा होइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर