बर्खाभरि मुग्लिन-पोखरा सडक स्तरोन्नति नहुने

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-पोखरा खण्ड वर्षायामभर स्तरोन्नति नहुने भएको छ ।वर्षायामभर कालोपत्र तथा सडक विस्तारको काम रोकेर पानीले असर नगर्ने नाला, कर्ल्भट र पर्खाल निर्माणमात्रै गरिने आयोजनाले जनाएको छ ।

असारदेखि असोज महिनासम्म मनसुन सक्रिय रहने भएकाले कालोपत्र र सडक विस्तार रोकी अन्य निर्माणलाई प्राथामिकता दिइएको मुग्लिन-पोखरा सडक आयोजनाअन्तर्गत पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए । उनका अनुसार पहिरो जान सक्ने स्थानमा भूक्षय रोक्ने किसिमका बिरुवा लगाउने, सडकको छेउमा दुबो रोप्नेलगायत कार्य भइरहेको छ ।

‘बाढीपहिरोले राजमार्गमा अवरूद्ध हुन सक्छ, पहिरोले भौतिक तथा मानवीय क्षतिसमेत हुन सक्ने भएकाले दिउँसोको समयमा सर्तकता अपनाएर काम गर्ने गरिएको छ,’ इन्जिनियर पाण्डेले भने, ‘हालसम्म पूर्वीमा ६२ र पश्चिम खण्डमा २८ प्रतिशत कार्यप्रगति भएको छ ।’ राजमार्गको ८० किलोमिटर सडकमध्ये करिब ५३ किमी सडकमा कालोपत्र भइसकेको उनले जानकारी दिए । पूर्वी खण्डमा ३३ र पश्चिम खण्डमा २० किमी कालोपत्र भइसकेको छ ।

पाण्डेले भने, ‘राजमार्गको पूर्वीमा ४१.७ र पश्चिममा ३८.८८ किमीलाई दुई खण्डमा विभाजन गरी काम गरिरहेका छौँ ।’ पश्चिम खण्डमा दुई लेनको गरी २० किमी सडकमा कालोपत्र गरिएको छ ।

आयोजनाको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलका अनुसार कालोपत्र गर्न ‘सबबेस’ र ‘बेस’ बिछ्याउने समयमा वर्षा भएमा थप समस्या हुने भएकाले काम बन्द गरिएको हो ।

पूर्वी खण्डमा २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । सवारीको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको आयोजना कार्यालयले जनाएको छ ।

पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रूपैयाँमा र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाख रूपैयाँमा भएको आयोजनाले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *