बाढीपहिरोले मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त

बाढीपहिराका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएको छ भने समग्रमा ४० किलोमिटर क्षेत्रका पुलपुलेसा, कल्भर्ट बगेका छन् ।

बाढीपहिराका कारण कालोपत्रको चरणमा रहेको उक्त सडकको भागमा क्षति भएको फिदिमस्थित पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय प्रमुख वीरेन्द्रकुमार यादवले जानकारी दिए ।  राजमार्गको उद्गमविन्दु चिवाभञ्ज्याङबाट पाँचथरको याङवरक गाउँपालिका–४ दारिम्बासम्म ५१ किलोमिटर सडक कालोपत्रका क्रममा छ । यही खण्डमा असार पहिलो साता परेको अत्यधिक वर्षाले दर्जनौँ स्थानमा पहिरो खस्दा ठूलो क्षति भएको उनले बताए ।

यहाँको ओयाम खोला र फलाम खोलामा रहेका पक्की सडक पुल नै बाढीले बगाएको छ । सिलसिले खोलाको पुलमा पनि क्षति भएको छ । बाढी पहिरोले यहाँका साना–ठूला गरी आठ वटा पुलामा क्षति भएको प्रमुख यादवले बताए। बाढीपहिरोका कारण धेरै स्थानमा सडक पुरिएको छ भने कतिपय स्थानमा दबेर तथा बगेर गएको छ । याङवरक गाउँपालिका–१ च्याङथापु, वडा नं २ फलैँचा, वडा नं ३ ओयाम र वडा नं ४ र ५ थर्पुको सडकमा क्षति भएको । सबैभन्दा बढी वडा नं ३ ओयाममा सडक क्षति  भएको याङवरक गाउँपालिका–३ का वडाध्यक्ष विमल राईले बताए ।

वडाध्यक्ष राईका अनुसार बाढी पहिरोले अवरुद्ध सडक पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय फिदिम तथा याङवरक गाउँपालिकाको समन्वयमा एकतर्फी सञ्चालन भए पनि सहज बनाउन समय लाग्नेछ । अहिले मध्यपहाडी राजमार्ग कामचलाउ सञ्चालन भए पनि वर्षा हुनासाथ दुर्घटनाको जोखिम छ, राईले भने, अन्य ग्रामीण सडक क्षतविक्षत छन् ।

बाढी पहिराले सडकका अतिरिक्त खानेपानीका मुहान तथा ट्याङ्की, लघुजलविद्युत् योजना, सिँचाइका योजनामा पनि ठूलो क्षति भएको छ । याङवरक–२ का वडाध्यक्ष देउकुमार योङहाङका अनुसार स्थानीयवासीका आयआर्जनको मुख्य माध्यम अलैँचीखेती हुने सयौँ रोपनी जमिन पहिराले बगाएको छ ।  बाढीले गत वर्ष मध्यपहाडी राजमार्गमै पर्ने दोभान खोलाको सडक पुल बगाएको थियो । उक्त पुल हालसम्म पुनः निर्माण भएको छैन ।

यसैबीच, याङवरकका पाँच वटा वडामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्बोले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले बाढीपहिराबाट हालसम्म १० परिवार पूर्ण रूपमा विस्थापित भएका जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर