सिमलताल बस दुर्घटनामा बेपत्ताको खोजीका लागि भारतले सहयोग गर्ने

गत असार २८ गते नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९, सिमलतालमा लेदोसहित खसेको पहिरोले बगाएर त्रिशूली नदीमा खसी बेपत्ता दुई बसका यात्रु खोज्न भारत सरकारले सहयोग गर्ने भएको छ ।

नवगठित नेपाल सरकारका गृहमन्त्री रमेश लेखकसँगको भेटवार्तामा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बेपत्ता यात्रुको खोजीका लागि अत्याधुनिक प्रविधिसहित आवश्यक सहायता उपलब्ध गराउन भारत सरकार सकारात्मक रहेको बताएका हुन् ।

दुर्घटनामा बेपत्ताहरूको खोजीका लागि विदेशबाट विज्ञ टोली झिकाउने चर्चा भइरहेका बेला भारतको तर्फबाट यस्तो प्रतिबद्धता आएको हो ।

दुर्घटनामा हालसम्म १९ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार १४ जनाको सनाखत भएर परिवारले शव बुझेका छन् ।

बाँकी ५ जनाको भने सनाखत हुन बाँकी छ । सनाखत हुन बाँकी रहेका शवहरू भरतपुर अस्पतालको शव गृहमा राखिएका छन् । आज मात्रै ५ वटा शवको सनाखत भएको छ ।

असार ३१ गते पूर्वी नवलपरासीको विनयत्रिवेणीमा भेटिएको शव रामनगरका जितेन्द्र देवको आज सनाखत भएको छ ।

यस्तै गरूडा-९, रौतहटका ९ वर्षीय बालक अशोककुमार यादव, सखुवाप्रसौनी-२, पर्साका २८ वर्षीया चन्द्रप्रभा कुमारी चौधरीको शवको सनाखत भएको छ । उनीहरूको शव असार ३१ गते विनय त्रिवेणीमा भेटिएको थियो । उनीहरू दुवै जना काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्सका यात्रु हुन् ।

यस्तै मंगलबार गैंडाकोट-७ मा शव भेटिएका सीतामणी थाना, भारतका २७ वर्षीय विवेक यादव र मध्यबिन्दु-१२, पूर्वी नवलपरासीमा शव भेटिएकी वौधिमाई-७, रौतहटकी २९ वर्षीया अमृताकुमारीको सनाखत भएको छ ।

सनाखत भएका ४ जना नै काठमाडौंबाट गौर जाँदे गरेको गणपति डिलक्सका यात्रु हुन् । भरतपुर सरकारी अस्पतालमा ३ वटा शव छन् ।

आज मात्रै भरतपुर महानगरपालिका वडा नं. २७, सालबासमा एक र पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका-७ मा रहेको नेपाल भारत सिमानामा रहेको ब्यारेजपुलमा थप १ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर