सुनको मूल्य प्रतितोला डेढ लाख, किन्ने भन्दा बेच्ने ग्राहक धेरै

सुनको मूल्य तोलाको डेढ लाख रुपैयाँ पुगेको छ । केही समयदेखि घटबढ हुँदै आएको सुनको मूल्य बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँ पुगेको हो ।

यो नेपाली सुन बजारको हालसम्मकै उच्च मूल्य हो । मङ्गलबारको मूल्य प्रतितोला एक लाख ४७ हजार आठ सय रुपियाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएपछि त्यसको प्रभाव नेपाली बजारमा पर्न गएको हो । बुुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔँस दुुई हजार ४७१ डलर पुगेको छ ।

अमेरिकाको फ्रेडरल रिजर्भ बैङ्कले ०.५ प्रतिशत ब्याजदर घटाउने हल्लासँगै बजारमा सुनको मूल्य ह्वात्तै बढेको व्यवसायीको भनाइ छ । ब्याजदर घट्दा लगानी सुनतिर आकर्षित हुन्छ, जसले माग बढाउँछ । वस्तु बजारमा सीमित आपूर्तिका बाबजुद माग बढ्दा सुनको मूल्य बढ्ने गर्छ । अन्तर्राष्ट्रिय बजार अनुसार नेपालमा सुनको मूल्य समायोजन हुन्छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष एवं सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले जुनसुकै बेला फेडरल रिजर्भ बैङ्कले ब्याजदर घटाउन सक्छ भन्ने अनुमानका आधारमा लगानीकर्ताले सुनमा लगानी बढाएका हुन् । सुनको लगानी सुरक्षित मानिने भएकाले सुनको मूल्य निरन्तरण बढ्दै गएको उनले जानकारी दिए ।

इजरायल युद्ध, एसियाली बजारमा सुनको माग बढी भएकाले पनि मूल्य बढ्न गएको उनको भनाइ छ । आगामी दिनमा सुनको मूल्य अझ बढ्ने सङ्केत देखिएको उनको अनुमान छ । व्यवसायीका अनुसार अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेर प्रतिऔँस दुई हजार सात सय डलर पुग्ने अनुमान गरिएको छ । त्यतिबेला नेपाली बजारमा सुनको मूल्य एक लाख ६५ हजार पुग्न सक्ने शाक्यले बताए ।

बजारमा निरन्तर सुनको मूल्य बढ्न थालेपछि नयाँ गहना किन्नेभन्दा पनि पुराना गहना बेच्ने ग्राहक बढी आउन थालेका छन् । महासङ्घका महासचिव डम्बरसुन्दर वज्राचार्यले सुनको मूल्य बढ्दै गएपछि कारोबार दैनिक पाँच केजीमा सीमित भएको बताए । उनले भने, “कोभिडका कारण शिथिल बनेको अर्थतन्त्रमा उपभोक्ताको क्रयशक्ति बढ्न सकेको छैन, लगातार मूल्य बढ्दा उपभोक्ता र व्यवसायी दुवैलाई असर परेको छ ।” बजारमा सुनको माग नहुुँदा बैङ्कसँग १७० केजीभन्दा बढी सुन मौज्दात रहेको उनको भनाइ छ ।

वाणिज्य बैङ्कहरूले सुन ल्याएर व्यवसायीलाई बेच्ने गरेका छन् । नेपाल राष्ट्र बैङ्कले दैनिक २० केजीका दरले सुनको आयात गर्ने कोटा निर्धारण गरेको छ । बजारमा सुनको माग न्यून हुुँदा बैङ्क र व्यवसायीसँग पनि सुनको मौज्दात छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *