सञ्चारमन्त्री गुरुङलाई एमाले प्रचार विभागले दियो ३० बुँदे सुझाव

नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सञ्चार क्षेत्रमा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कामका बारेमा औपचारिक रूपमा सुझावसहित ध्यानाकर्षण गराएको छ ।

बुधबार एमाले प्रचार विभागका प्रमुख एवम् स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले सञ्चारमन्त्री गुरुङलाई भेटेर सुझावपत्र बुझाएको हो । एमाले प्रचार विभागले सञ्चार क्षेत्रका कार्यक्रमका सम्बन्धमा १७ बुँदे र नीतिगत तथा संरचनागत क्षेत्रमा १३ बुँदे सुझाव दिएको छ ।

सुझावमा मिडिया काउन्सिल विधेयक पारित गरी मिडिया काउन्सिल गठन गर्नुपर्ने, सार्वजनिक सेवा प्रसारण विधेयक पारित गरी कार्यान्वयन गर्नुपर्ने, राष्ट्रिय आमसञ्चार प्राधिकरण गठन गर्नुपर्ने, श्रमजीवी पत्रकारबाट सञ्चालित साना लगानीका स्वरोजगार मूलक सञ्चारमाध्यमको प्रवर्द्धन गर्नुपर्ने लगायत छन् ।

त्यस्तै, डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन, पत्रकारको स्वास्थ्य बिमा र सरकारी अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था लगायत बुँदाहरू समावेश छन् । सुझाव ग्रहण गर्दै सञ्चारमन्त्री गुरुङले विभागले दिएका सुझावहरूलाई गम्भीरताका साथ ग्रहण गरी कार्यान्वयनमा लैजाने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *