बाढी-पहिरोमा परी हालसम्म १२४ जनाको मृत्यु

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी बुधबार दिउँसोसम्म १ सय २४ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा ५ जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साथै काठमाडौं उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३४ जना, मधेस प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ४० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ ।

यस्तै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ । बाढी, पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेस प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ८ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

बाढीका कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् । २ सय १८ वटा घर, ८० वटा गोठ, ४३ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५ सय ८४ वटा पशुचौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ७ सय २ घरपरिवार विस्थापित भएका छन् ।

प्रहरीले बाढी, पहिरोको जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम, बाटो अवरोध हटाउने गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर