प्रहरी संगठन थप सुदृढ र क्रियाशील बनाउन प्रहरी ऐन संशोधन आवश्यक छ : गृहमन्त्री लेखक 

गृहमन्त्री रमेश लेखकले विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम भएको बताएका छन् । प्रहरी प्रधान कार्यालयको स्थलगत अनुगमनपछि  सम्बोधन गर्दै उनले संविधान र कानुनमा लेखेको कुरा आफैँ कार्यान्वयन नहुने बताए ।
‘संविधानमा धेरै मौलिक हकका कुरा गरेका छौँ, राज्य र नागरिकका सम्बन्धका कुरा गरेका छौँ,’ गृहमन्त्री लेखकले भने, ‘ती आफैँ परिचालित र क्रियाशील हुने होइनन् ।’
उनले लोकतन्त्रको आधारभूत मान्यता भनेको विधिको शासन भएको बताए । ‘लोकतन्त्र कुनै अमूर्त विषय होइन,’ उनले भने, ‘नेताहरूले भाषण गर्ने र नागरिकले भाषण सुन्ने विषय मात्रै पनि होइन, लोकतन्त्रको आधारभूत मान्यता हुन्छन्, विधिको शासनपनि एउटा मान्यता हो ।’
निष्पक्षता, पारदर्शिता र व्यवसायिकतामा कमी हुन नदिन निर्देशनसमेत उनले दिए ।
‘उच्च मनोबलका साथ काम गर्नुहोला, प्रहरीको मनोबल उच्च राख्नको लागि र मनोबल उच्च रहिरनका लागि प्रेरणादायी काम गर्न मन्त्रालयले गर्नेछ,’ गृहमन्त्री लेखकले भने, ‘हामी त्यसमा प्रतिबद्ध छौँं ।’
गृह प्रशासन आफ्ना लागि नयाँ अनुभव भए पनि संसद्मा कानुन र संविधान निर्माणको क्षेत्रमा काम गर्ने अवसर लामो समयदेखि पाएको उनको भनाइ थियो ।
‘नेपाल प्रहरी इतिहास बोकेको गर्व गर्न लायक संस्था हो,’ उनले भने, ‘कानुनी व्यवस्था कायम गर्ने,अपराध नियन्त्रण गर्ने सवालका साथै मुलुक र समाजलाई न्यान दिने सवालमा प्रहरीको अहम् भूमिका रहेको छ ।’ सीमित स्रोतसाधन र जनशक्तिकाबीच प्रहरीले काम गरिरहेको जनाउँदै गृहमन्त्री लेखकले भने, ‘प्रहरी सङ्गठन थप सुदृढ र क्रियाशील बनाउन प्रहरी ऐन संशोधन आवश्यक छ ।’
उनले प्रहरीसम्बन्धी सबै कानुन समयसामयिक रूपमा पुनरवकोलन र संशोधन गर्न प्रहरी ऐन २०१२ लाई संसद्मा पुर्‍याउने गतिमा अघि बढ्नेमा जोड दिए । कानुनबमोजिम काम गर्नुका साथै प्रहरीमा कुनै प्रकारको अवाञ्छित दबाब र प्रहरी संस्थाको दुरूपयोग गर्न नहुने उनको भनाइ छ । ‘मानिसले बिरामी परे डाक्टर र विपत् परे प्रहरीलाई सम्झिने गरेका छन्,’ उनले भने, ‘त्यसकारण प्रहरी समाजको डाक्टर पनि हो, किनभने दु:ख पीडा र अप्ठ्यारोमा परेको मानिसले तपाईंहरूलाई सम्झिन्छन् ।’
सो अवसरमा गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरको उपस्थिति रहेको थियो । मन्त्री लेखकको प्रहरी प्रधान कार्यालयमा रहेको अमर शहीद प्रहरीको शालिकमा माल्यार्पण गर्नुका साथै विभिन्न विभागको अनुगमन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर