कोशी नदीको आडमा हुने तस्करी नियन्त्रणमा कठोर बन्दै सुरक्षा निकाय

आवश्यकता परे सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्ने

सप्तकोशी नदीको आडमा हुने तस्करी नियन्त्रणमा आउन नसकेपछि सुरक्षा निकाय एक्शनमा उत्रने निर्णयमा पुगेको छ ।

नदीको आडमा गाँजालगायतका लागुऔषध र प्रतिबन्धित औषधिको तस्करी बढेको निष्कर्षमा पुगेको सुरक्षा निकाय उक्त कारोबार रोक्न कठोर भएर लाग्ने निर्णयमा पुगेको हो । लागुऔषध कारोबार र ओसारपसार चुनौती बन्दै गएपछि सुनसरी प्रशासनको नेतृत्वमा भेडेटारमा सम्पन्न डीआईजी सम्मिलित बैठकले सो निर्णय गरेको हो ।

नदीसँग जोडिएका कोशी प्रदेशका चार जिल्ला सुनसरी, उदयपुर, धनकुटा र भोजपुरका प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा सम्पन्न विशेष सुरक्षा बैठकले गरेको उक्त निर्णय तत्काल कार्यान्वयनमा लैजाने सहमतिसमेत भएको छ । सोहीबमोजिम मातहतका सुरक्षा निकायलाई निर्देशनसमेत दिइएको छ ।

कोशी प्रदेशका डीआईजीद्वय चन्द्रकुवेर खापुङ र शम्भू सुवेदीसहितको उपस्थितिमा चार जिल्लाका सुरक्षा प्रमुखलाई तस्करी नियन्त्रणमा कडाइसाथ लाग्न निर्देशन दिइएको हो । सुनसरीका प्रजिअ रामचन्द्र तिवारीका अनुसार नदीबाट गाँजा तथा अन्य कुनै पनि लागुऔषध ओसारपसार गरेको फेला परेमा सुरक्षा निकायले आवश्यकताअनुसार कारबाही अघि बढाउनेछ ।

बैठकको संयोजन गरेका प्रजिअ तिवारीले निर्णयबारे जानकारी दिँदै भने, ‘तस्करी र लागुऔषध नियन्त्रणको सवालमा सुरक्षा निकाय कठोरसाथ लाग्ने सर्वसम्मत सहमति जुटेको छ । सुरक्षा निकायको हकमा सहभागी चारवटै जिल्लाका प्रजिअबाट संयुक्त रूपमा सोहीबमोजिमको निर्देशन जारी भएको छ । तस्करी नियन्त्रणको प्रयासमा सुरक्षाकर्मीले आवश्यकता हेरेर हदैसम्मको कारबाही गर्नेछ । आवश्यकता परेमा सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्नेछ । तसर्थ सम्बन्धित कारोबारी बेलैमा सचेत भएको राम्रो ।’

बैठकमा कोशी नदीबाट बाँस ओसारपसार गर्ने बहानामा पहाडी भेगबाट तराईका जिल्लासम्म गाँजा ओसारपसार हुने र खुला सीमाका कारण भारतबाट ल्याइएका लागुऔषध सुनसरी हुँदै नदी आसपासका अन्य जिल्लासम्म पुर्‍याइने गरेको जस्ता विषय केन्द्रित छलफल चलाइएको थियो । संयुक्त बैठकले लागुऔषध तथा तस्करी नियन्त्रणका लागि सम्बन्धित नाकामा सुरक्षा तैनाथी बढाउने निर्णयसमेत गरेको छ ।

रातिको समयमा नदीको माध्यमबाट हुने आवतजावत ठप्प पार्ने र नदीमा बगाएर ल्याइने बाँस र डुंगाको आवतजावत तथा ट्युब प्रयोग गरी हुने सामान ढुवानी र मानवीय आवतजावतलाई निषेध गरिएको समेत जनाइएको छ ।

हेर्नुहाेस् भिडियाे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर