सिमलतालदेखि गण्डक ब्यारेजसम्म सशस्त्रको जम्बो टोलीले यसरी खोज्दैछ बेपत्ता यात्रु (भिडियो)

शव फेला परेका १५ मध्ये ९ जनाको पहिचान

सशस्त्र प्रहरीले गत शुक्रबार बिहान सिमलतालमा लेदोसहित खसेको पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुईवटा बस र तिनमा सवार यात्रुको खोजीका लागि ठूलो संख्यामा फौज खटाएको छ ।

नारायणगढ-मुग्लिङ सडकखण्डअनतर्गत चितवनको भरतपुर महानगरपालिका-२९, सिमलतालमा भएको उक्त दुर्घटनामा बेपत्ता बस र दुई बसका करिब ६५ यात्रुको खोजी रफ्तारमा भइरहेको हो ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार हालसम्म फेला परेका १५ शवमध्ये ९ को पहिचान खुलेको छ ।

बेपत्ता बस र बाँकी यात्रु खोज्न मंगलबार सशस्त्र प्रहरीको ३ सय १ जना सुरक्षा फौज घटनास्थलदेखि करिब १ सय ३२ किलोमिटर दूरी रहेको गण्डक ब्यारेजसम्म परिचालन भएको छ ।

दुर्घटनास्थल सिमलताल वरिपरिका ठाउँहरूमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुनिरटारबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा ११ जना गोताखोरसहित ८६ जनाको सुरक्षा फौज २ वटा मोटरबोट र ७ वटा र्‍याफ्टबोटसहित परिचालन भएको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा १ सय १५ जनाको सुरक्षा फौज विभिन्न १५ वटा टोली बनाएर घटनास्थल, देवघाटदेखि शिवघाटसम्म, शिवघाटदेखि सिसवारसम्म, सिसवारदेखि गोलघाटसम्म परिचालन भएको छ ।

हेर्नुहाेस् भिडियाे 

त्यसैगरी सोही गणबाट खटिएको फौज सिसवारदेखि गोलाघाटसम्म, आँपटारी, रामनगर, जुगेडी, गाईघाट, देवघाट, पुल्चोक, शिवघाट, गाजीपुर, सिसवार, गोलाघाटलगायतका ठाउँहरूमा परिचालित भएकोे छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ६० जनाको सुरक्षा फौज गण्डक व्यारेज ईलाकामा परिचालन भएको छ भने सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षा फौज गैंडाकोट नगरपालिका-१० को इलाकामा परिचालित भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली गण्डक ब्यारेज इलाका, सुरक्षा बेस चोरमाराबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली पूूर्वी नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका-३, भुटाहा इलाका र सुरक्षा बेस प्रगतिनगरबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जनाको टोली देवचुली नगरपालिका-१५, खर्कटा इलाकामा परिचालित भएका छन् ।

वीरगञ्जबाट काठमाडाैंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-०११ ख २५९५ नम्बरको बस त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट २ वटा सोनार डिभाइस, २ वटा मोटर बोट र ६ वटा र्‍याफ्टबोट प्रयोग भएको छ भने सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट १ सोनार डिभाइस, १ वटा मोटरबोट र ५ वटा र्‍याफ्टसहित जम्मा १४ वटा बोट प्रयोग गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर