सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम हुन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण, विकास निर्माणका काम र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मंगलबार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा नेकपा (एमाले) जिल्ला कमिटी सिन्धुपाल्चोकद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले सुशासन र विकासको काममा सरकार सकारात्मक परिणाम आउने गरी लागिपर्ने बताए ।

‘साथीहरूलाई म विश्वस्त, आश्वस्त र ढुक्क रहन म के आग्रह गर्न चाहन्छु भने यो सरकारले सुशासन र विकासको सन्दर्भमा, भ्रष्टाचार नियन्त्रण र उन्मूलनको सन्दर्भमा, विकासको कामलाई अगाडि बढाउने सन्दर्भमा र जनतालाई अफ्ठ्याराे परेको बेला कठिनाइमा भएका जनतालाई हेर्ने कुरामा, यो तीनवटै पक्षमा सामाजिक क्षेत्र, विकासको क्षेत्र र शासन-प्रशासनको क्षेत्र सबैतिर सकारात्मक देखिने गरी परिणाम आउने गरी काम गर्छ भन्ने कुरा विश्वस्त रहन म साथीहरूलाई आग्रह गर्न चाहन्छु,’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले सरकारले बाढी, पहिरोलगायतको क्षतिलाई गम्भीरतापूर्वक लिएको र त्यसैअनुसारको राहतलगायतका आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाएको बताए । उनले नयाँ सरकार आएपछि सिंगो देशमा आशा र भरोसा जागेको र त्यो कायम हुने गरी सरकारले पहिलो क्याबिनेटबाट नै आफ्नो काम अघि बढाएको दाबी गरे ।

प्रधानमन्त्री ओलीले विगतमा पनि आफूले सरकारको नेतृत्व लिएका बेला देश र जनताका पक्षमा काम गरेको र अहिले पनि जनताका पक्षमा तीव्रताका साथ काम गर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर