‘एउटै पार्टीले बहुमत ल्याउन सक्ने गरी समानुपातिक संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्छ’

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले राजनीतिक नेतृत्वबाट नागरिकमा छाएको निराशा चिर्न नेपाली कांग्रेस र नेकपा (एमाले) ले जोखिम उठाएको बताएका छन् । उनले अहिलेको राजनीतिबाट देशमा चुलिएको निराशा चिर्नका लागि कुनै न कुनै बेला कांग्रेस-एमाले एक हुनुपर्ने अवस्थालाई मध्यनजर गरी एक पटक एक ठाउँमा उभिएको जिकिर गरे ।

उनले एमाले र कांग्रेसले आफ्ना बीचका अविश्वासहरूलाई बिर्सेर देशप्रतिको आफ्नो जिम्मेवारी सम्झी जोखिम उठाएको बताए । उनले एमाले र कांग्रेसका शीर्ष नेताहरू देशका लागि आफ्नो छाप छोड्न एक ठाउँमा उभिएको बताए ।

उनले आगामी दिनमा पनि दुवै नेता ( कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली) जोखिम उठाउन तयार रहेको बताए । जोखिमका बाबजुद पनि संविधानलाई कहीँ न कहीँ अहिलेसम्मको अभ्यासबाट समृद्ध बनउन आवश्यक रहेको बताए ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले अहिलेको संविधान छुँदै नछोएको संविधान नभएको भन्दै अहिलेसम्म दुई पटक संशोधन भइसकेको बताए । उनले अहिले राजनीतिक पुँजी निर्माण गर्न आवश्यक रहेको बताए । उनले शासनलाई ठीक बाटोमा नलग्दासम्म समस्याहरू सिर्जना भइरहने भएकाले कांग्रेस र एमालेले शासनलाई ठीक बाटोमा लैजान आवश्यक रहेको बताए । उनले एउटाले अर्कोलाई झुक्याउने र सत्ताकै लागि मात्रै झगडा गर्ने कुराबाट जनता आजित भइसकेको भन्दै अब देश विकासका लागि काम गर्नुपर्ने बताए ।

‘आज राजनीति जहाँ छ, त्यो राजनीतिबाट देशमा निराशा चुलिएको छ र कहीँ न कहीँ एमाले र कांग्रेसले आफ्ना बीचका अविश्वासहरूलाई बिर्सेर देशका प्रतिको आफ्नो जिम्मेवारीलाई सम्झेर केही जोखिम उठाउनुपर्ने थियो,’ नेता रिजालले भने, ‘त्यो जोखिम उठाउने कामका निम्ति दुवै नेताहरू सहमत हुनुभयो । जोखिम छ दुवैलाई । एउटालाई मात्रै छ भन्दिनँ मैले । हामीकहाँ बढी होला जोखिम । किनकि हामी कुरेर बस्ने पार्टी छौं । ओलीजीले अहिले नै सुरू गर्नुहुन्छ । त्यसकारण जोखिम छ, नभएको होइन । तर जोखिमको बाबजुद हामीले पहिला बनाएको संविधानलाई कहीँ न कहीँ अहिलेसम्मको अभ्यासबाट अझ समृद्ध गर्नुछ । परिमार्जन गर्नुछ,’

संविधानलाई अझ बढी समृद्ध बनाउने कुरामा कांग्रेस र एमालेले पूरै देशलाई आश्वस्त पार्न सक्नुपर्छ
देश विकासका लागि काम नगर्ने हो भने आगमी निर्वाचन दुवै पार्टीका लागि कठिन हुने उनले बताए । कांग्रेसका लागि अझ बढी कठिन बन्ने उनको बुझाइ छ । निर्वाचनमा जाने क्रममा मधेस, शहरी क्षेत्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) दुवैले आफ्नो बलियो आधार गुमाएको उनले बताए । उनले आधार गुमाउँदै जाँदा आगामी दिनमा दुवै दलको राजनीति सहज नहुने बताए । दुवै दलका नेताले आफ्नो कार्यकाललाई अब जनताले स्मरण गर्न सक्ने गरी योगदान दिन सक्नुपर्ने उनले बताए ।

उनले संविधानलाई अझ बढी समृद्ध बनाउने कुरामा कांग्रेस र एमालेले पूरै देशलाई आश्वस्त पार्न सक्नुपर्ने बताए । पार्टीका तर्फबाट सबै नेताहरूको सहयोग वर्तमान सरकारलाई रहने उनले बताए । उनले साना राजनीतिक दलहरूले पनि अभिमान नभई संयमता अपनाएर काम गर्नुपर्ने बताए ।

‘मेरो पार्टीका लागि बढी जोखिम छ यसकारणले कि हामीहरू यो निर्वाचनमा जाने क्रममा एउटा बलियो आधारलाई हामीले गुमाएका छौं । शहरी क्षेत्रमा हाम्रो निकै नै आधार गुमेको छ । हुन त दुवै पार्टीको हेर्दा हाम्रो ७ प्रतिशत गुम्यो, एमालेको ६ प्रतिशत गुम्यो । एमालेको ६ प्रतिशतमध्ये ३ प्रतिशत माधवजीको पार्टीले लगेको मत हो नि !,’ उनले भने, ‘त्यस अर्थमा उहाँहरूले ३ प्रतिशत गुमाउनुभयो । हामीले ६ प्रतिशत गुमायौं । २०६४ सालदेखिको अनुभवमा मधेसमा र अन्य ठाउँमा हामीले राम्रो मत पाउँथ्यौं । मधेसमा त्यो मत पाउँदा हामीले थुप्रो जित्थ्यौं । त्यो आधार हामीले गुमाएका थियौं । यसरी आधार गुमाउने हो भने हाम्रा लागि आगामी दिनको राजनीति सहज नहुने अवस्था छ ।’

नयाँ राजनीतिक दलहरूको परिवर्तनका एजेण्डा कमजोर भयो
उनले परिवर्तनकारी शक्तिको नाम लिएर उदाएका नयाँ राजनीतिक दलहरूको परिवर्तनका एजेण्डा कमजोर भएको बताए । उनले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै २०६४ सालमा उदाएका राजनीतिक दलहरूको परिवर्तनकारी एजेण्डा ओझेलमा परेको बताए । उनले सत्तादेखि सत्तासम्मका लागि राजनीति हुँदा परिवर्तनको नाममा उदाएका कुनै पनि शक्ति आफ्नो अन्तिम बिन्दुसम्म पुग्न नसकेको बताए ।

उनले परिवर्तनलाई प्रतिनिधित्व गरेर बलियो प्रतिपक्ष बन्न आग्रह गरे । उनले मधेसी राजनीतिक दलहरूले पनि सत्तामोहमा फसेर आफ्ना एजेण्डाहरू बिर्सिएको बताए । जुन मुद्दालाई प्रतिनिधित्व गरेर राजनीतिमा उदाएको हो त्यही मुद्दा बिर्सिएको उनले बताए ।

‘मैले आजको दिनमा उपदेश दिन थालेँ भने त्यो साना पार्टीहरूलाई पाच्य हुन्न । त्यो बाटोमा जानुहुन्न । उहाँहरूसँग मैले यति मात्रै भन्ने हो, अत्यन्तै विनम्र भावमा तपाईंहरू परिवर्तनकारी शक्ति हुँ भनेर आउनुभएको हो नि त !,’ उनले भने, ‘अहिले नयाँ आउने पनि, २०६४ सालमा आउने पनि । तपार्इंहरूको परिवर्तनको एजेण्डा कमजोर भएको छ भन्ने लाग्यो र त्यो परिवर्तनलाई प्रतिनिधित्व गर्दै बस्नुभयो भने त बलियो प्रतिपक्ष बन्नुहुन्छ नि त !’

उनले गत निर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले कांग्रेस-एमालेले एक्लाएक्लै चुनाव लड्नुपर्ने बताएकाे स्मरण गर्दै आफू पनि सोही पक्षमा रहेको बताए । तर, पार्टी सभापति देउवाले माओवादीसँग मिलेर चुनाव नलड्दा माओवादी एमालेसँग मिल्न जाने कुरालाई मध्यनजर गरी सँगै चुनाव लड्ने निर्णय गरेको बताए । उनले परिणामतः निर्वाचनलगत्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेकपा (एमाले) सँग मिलेर सरकार बनाउन गएको पुष्टिले सभापति देउवाको सोचलाई स्वीकार गर्न बाध्य बनाएको बताए ।

यसकारण पनि उनले अहिलेको निर्वाचन प्रणालीलाई परिमार्जन र संशोधन गर्न आवश्यक रहेको बताए । संशोधन र परिमार्जन भनेको अहिले बाहिर आएको भ्रमजस्तो नरहेको उनले बताए ।

उनले समुदाय, पहिचान, महिला, आदिवासी, जनजातिमध्ये पनि अल्पसंख्यकको, मधेसीहरूमध्ये पनि अल्पसंख्यकको प्रतिनिधित्वको बाटो यथावत राखी एउटा पार्टीले एक्लै बहुमत पाउन सक्ने गरी समानुपातिकको संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्ने बताए । उनले त्यो हुन सके मात्रै कुनै एक पार्टीले बहुमत नजिक वा बहुमत प्राप्त गर्न सक्ने बताए ।

‘निर्वाचन प्रणालीमा केही परिवर्तन गर्नु छ । र, निर्वाचन प्रणालीमा परिवर्तन गर्ने भनेको बाहिर आएको कोकोहोलोजस्तो जुन समुदायको, जुन पहिचानको, महिलाको, आदिवासी, जनजातिमध्ये पनि अल्पसंख्यकको, मधेसीहरूमध्ये पनि अल्पसंख्यकको, यस्ता थुप्रै समुदायहरू छन्, जसको प्रतिनिधित्व हुन सकेको छैन,’ नेता रिजालले भने, ‘तिनलाई प्रतिनिधित्वको बाटो बन्द गरेर होइन । त्यो प्रतिनिधित्वको बाटोलाई यथावत राखेर, जोगाएर अनि एउटा पार्टीले एक्लै बहुमत पाउन सक्ने गरी समानुपातिकको संख्या घटाएर निर्वाचन प्रणाली बदल्नुपर्छ भन्ने लागेको छ । यो भएपछि कांग्रेस वा एमाले एउटा पार्टी अथवा त्यो हैसियतको पार्टी सिधै बहुमत वा बहुमतभन्दा २, ४, ५ सिट कममा पुग्छ ।’

नेता रिजालले जनताले खोजेको परिवर्तन, विकास र समृद्धिलाई मध्यनजर गरी वर्तमान सरकारले कामकारबाही अघि बढाउने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *