सङ्घीय मन्त्रिपरिषदमा २७ वर्षपछि मुगुको प्रतिनिधित्व

हिमाली जिल्ला मुगुले २७ वर्षपछि सङ्घीय सरकारमा प्रतिनिधित्व पाएको छ । विसं २०४८ मा नेपाली कांग्रेसको नेतृत्वमा गठित मन्त्रिपरिषदमा यहाँबाट तत्कालीन प्रनिनिधिसभा सदस्य हस्तबहादुर मल्ल शिक्षा सहायकमन्त्री भएका थिए ।

विसं २०५२ पछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा समेत मल्ल शिक्षा राज्यमन्त्री भएका थिए। उनी विसं २०५३ सम्म मन्त्री रहे तर त्यसयता धेरै सरकार बने पनि मुगु जिल्लाबाट प्रतिनिधित्व हुन सकेको थिएन ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सत्ता गठबन्धनको नवगठित सरकारमा २३ वर्षपछि मुगुबाट प्रतिनिधिसभा सदस्य ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बनेका छन् । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उहाँ कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने एकल व्यक्ति हुन् ।

मन्त्री शाहीको राजनीतिक पृष्ठभूमि

नेपाली कांग्रेस मुगु जिल्ला पार्टी सभापतिसमेत रहेका मन्त्री शाही जिल्लामा मदुभाषी र सालिन नेताका रूपमा परिचत छन् । गत निर्वाचनमा मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विसं २०२६ फागुनमा यहाँको सोरु गाउँपालिका–२ जडेपानीमा जन्मिएका थिए ।

विसं २०४४/४५ देखि नेपाल विद्यार्थी सङ्घबाट सक्रिय राजनीतिमा लागेका शाही २०४८/०५१ र २०५२/५३ मा तत्कालीन शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको स्वकीय सचिवसमेत भएका थिए । कांग्रेस जिल्ला सदस्य हुँदै उनी विसं २०६८ मा पार्टीको जिल्ला सभापतिमा निर्वाचित भए । मन्त्री शाही विसं २०७८ मा दोस्रोपटक कांग्रेस जिल्ला सभापति निर्वाचित भए।

विसं २०७० मा संविधानसभा सदस्य उम्मेदवार बनेका उनी झिनो मतान्तरले एमालेका मोहन बानियाँसँग पराजित भएका थिए । विसं २०७९ को आमनिर्वाचनमा भने प्रतिस्पर्धी एमालेका उम्मेदवार राजबहादुर कार्कीलाई पराजित गर्दै शाही चार हजारभन्दा बढीको मतान्तरसहित विजयी भएका थिए ।

शाहीले १४ हजार सात सय छ मत प्राप्त गर्दा कार्कीले १० हजार सात सय १० मत प्राप्त गरेका थिए । शाहीले स्नातक तह उत्तीर्ण गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *