सर्वोच्च अदालतमा एक वर्षमा ३७.८४ प्रतिशत मुद्दा फर्स्योट
चालु आर्थिक वर्षमा सर्वोच्च अदालतमा दर्ता भएका ३७.८४ प्रतिशत मुद्दा फर्स्योट भएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतले सो जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै सर्वोच्च अदालतमा प्रवक्ता वेदप्रसाद उप्रेतीले विगत ५ वर्षको तुलनामा यस वर्ष करिब ७ प्रतिशतले मुद्दा फर्स्योट वृद्धि भएको बताए । उनले चालु आर्थिक वर्षमा सर्वोच्च अदालतमा दर्ता भएका ४० हजार ९१२ मुद्दामध्ये १५ हजार ४८४ मुद्दा फर्स्योट गरेको बताए ।
उनले विगत पाँच वर्षको तुलनामा यस वर्ष मुद्दा फर्स्योट संख्या र प्रतिशतमा वृद्धि भएको बताए । उनले ४० हजार ९१२ मुद्दामध्ये फर्स्योट गर्न २५ हजार ४२८ मुद्दा बाँकी रहेको बताए ।
प्रवक्ता उप्रेतीले विगत ५ वर्षमा २ वर्ष नाघेका मुद्दाको तुलनामा पनि २ वर्ष नाघेका मुद्दा फर्स्योट बढी रहेको बताए । विगत ५ वर्षमा २ वर्ष नाघेका २० हजार १४२ मुद्दामा ८ हजार १२२ मुद्दा फर्स्योट गरिएको उनले बताए । उनले विगत ५ वर्षको तुलनामा २ वर्ष नाघेका ४०.३२ प्रतिशत मुद्दा फर्स्योट गरिएको बताए ।
प्रवक्ता उप्रेतीले ५ वर्षमा २ वर्ष नाघेका अझै १२ हजार २० मुद्दा बाँकी रहेको बताए । उनले २ हजार ६४५ थुनुवा मुद्दामा चालु आर्थिक वर्षमा ८९७ अर्थात ३३.९१ प्रतिशत मुद्दा फर्स्योट गरिएको बताए ।
उच्च अदालतमा ६५ हजार ३१० मुद्दामा ६२.६१ प्रतिशत र जिल्ला अदालतमा २ लाख २८ हजार ३७२ मा ५७.०६ प्रतिशत मुद्दा फर्स्योट भएको उनले बताए । उनले सर्वोच्च, उच्च र जिल्ला अदालतमा गरी चालु आर्थिक वर्षमा ३ लाख ६४ हजार ५९४ मुद्दा दर्ता भएकामा ५५.९० अर्थात २ लाख ३ हजार ८२७ मुद्दा फर्स्योट भएको बताए । उनले सर्वोच्च अदालतमा हरेक आर्थिक वर्षमा मुद्दा दर्ताको क्रम बढ्दो रहेको बताए ।
उनले सर्वोच्च अदालतमा प्राप्त स्रोतसाधन न्यून र जनशक्तिको दक्षता अभिवृद्धिमा राज्यको लगानी नभएको बताए । उनले अदालतहरूको भौतिक अवस्था कमजोर भएको बताए । उनले समयमा न्यायधीश नियुक्ति नहुनु प्रमुख चुनौती रहेको बताए ।
सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेलले सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन पद्धतिका तथ्यांक सकारात्मक रहेको बताए । उनले पछिल्लो समय अदालतले दर्ता भएका मुद्दाभन्दा बढी फर्स्योट गरिरहेको दाबी गरे । उनले अदालतहरूमा दर्ता भएका मुद्दा फर्स्योट तथ्यांकहरूले अदालतहरू सुधारोन्मुख भएको देखिएको बतए ।
उनले चालु आर्थिक वर्षमा विगतको तुलनामा २३ सय मुद्दा कम गर्न सफल भएको बताए । उनले गत वर्ष १२ हजार बढी मुद्दा फर्स्योट गरिएकामा यो वर्ष १५ हजार बढी मुद्दाहरू फर्स्योट गरिएको बताए ।
सर्वोच्च अदालतले रिट निवेदनका लागि परेका ७ हजार २८६ मुद्दाहरूमा पनि २ हजार ८० मुद्दा फर्स्योट गर्न सफल भएको बताए ।
प्रतिक्रिया