मन्त्री अधिकारीद्वारा कृषि दशकमा लगानी जुटाउने सम्बन्धी निर्णयमा हस्ताक्षर

नवनियुक्त कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले घोषणा गरेको कृषि दशकमा लगानी जुटाउने सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् । आज सिंहदरबारस्थित मन्त्रालयमा पदवहालीपछि उनले कृषि दशक सफल बनाउन आवश्यक लगानी जुटाउने सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका हुन् ।

त्यस अवसरमा मन्त्री अधिकारीले कृषि क्षेत्रको विकास भएमा मात्र मुलुकको विकासमा ठूलो सहयोग पुग्ने भएकाले सोहीअनुसार क्रियाशील हुन सम्बद्ध कर्मचारीलाई निर्देशन दिए । गाउँमात्र नभई खेतीयोग्य तराईका फाँटसमेत बाँझो भएकाले त्यहाँ उत्पादन गराउन मन्त्रालय लागिपर्ने उनको भनाइ छ ।

‘सांसद हुनुअघिसम्म आफूले खाने अन्न आफैँ उत्पादन गर्थेँ, गोलभेँडा, धान, मकै, कोदो उत्पादन गर्ने तरिका मलाई पनि थाहा छ । अब हरेक नेपालीलाई आफ्नो खेतीयोग्य जमिनको उपयोग गर्न अभिप्रेरित गर्नुपर्नेछ । यसकार्यमा मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने खाँचो छ । हामी सबै मिलेर यसमा काम गर्नुपर्छ,’ मन्त्री अधिकारीले भने ।

प्रजातान्त्रिक आन्दोलनमा लाग्दा पटकपटक जेल परेका अधिकारी नेपाली कांग्रेस धादिङको सभापतिसमेत हुन् । उनी विसं २०७९ को संसदीय निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् । धादिङको सुनौलाबजार नेवारपानीमा विसं २०१८ भदौ १८ गते जन्मेका अधिकारी २०३६ सालको जनमतसङ्ग्रह, २०४२ को सत्याग्रहमा कांग्रेसका तर्फबाट सक्रिय रूपमा सहभागी भएका थिए । पञ्चायतविरूद्धको आन्दोलन गर्दा उनी विसं २०४५ वैशाख ६ गते गिरफ्तार भएका थिए । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि राजनीतिमा थप सक्रिय भएका उनी आठौँ महाधिवेशनमा पार्टीको जिल्ला सहसचिव निर्वाचित भए ।

मन्त्री अधिकारी विसं २०५३ को नवौँ महाधिवेशनमा जिल्ला सभापतिको प्रत्यासी भएका थिए । पछि सभापतिमा निर्वाचित दामन पाख्रिनको विसं २०५४ कात्तिक २६ गते निधन भएपछि अधिकारीलाई नै बाँकी अवधिका लागि जिम्मेवारी दिइएको थियो । पहिलो पटक विसं २०५६ को आमनिर्वाचनमा धादिङ क्षेत्र नं २ बाट सांसद निर्वाचित उनी धादिङ कांग्रेसको २०५५, २०५७, २०६२, २०६७ र २०७८ सालमा गरी पाँचप टक सभापति निर्वाचित भए । विसं २०६४ र २०७० सालमा भएको संविधानसभा निर्वाचनमा पराजित भएका अधिकारी २०७९ मङ्सिरको संसदीय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का खेमप्रसाद लोहनीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

पदभार ग्रहणका लागि मन्त्रालय जानुअघि उनलाई धर्नामा बसेका कृषि प्राविधिकले आफ्ना समस्याका बारेमा जानकारी गराएका थिए । कर्मचारीका समस्या सुनेपछि मन्त्री अधिकारीले यस विषयमा अध्ययन गरी उपयुक्त निर्णय लिने प्रतिबद्धता व्यक्त गरे । पदभार ग्रहणका क्रममा आयोजित कार्यक्रममा मन्त्रालयका सचिवद्वय डा दीपक खराल र डा राजेन्द्रप्रसाद मिश्रले भए गरेका गतिविधि बारेमा मन्त्री अधिकारीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर