सञ्चार मन्त्रालय सम्बद्ध निकायको पुनर्संचना गर्ने मन्त्री गुरूङको निर्णय

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आज पदभार ग्रहणका क्रममा उनले सञ्चार तथा सूचना प्रविधि प्रणालीको सुरक्षित र प्रभावकारी प्रयोगका लागि मन्त्रालय सम्बद्ध निकायको कानुनी र संस्थागत पुनःसंरचना गर्ने निर्णय गरेका छन् ।
मन्त्री गुरूङले मातहतका कर्मचारीलाई प्रतिफल आउने गरी क्रियाशील हुन निर्देशनसमेत दिए । ‘नेतृत्व तहबाट गर्ने सहयोगका लागि म सधैँ तपाईँहरूको साथमा छु । मन्त्रालयले प्रदान गर्ने सेवाको प्रभावकारिताका लागि कानुनी र संस्थागत सुधार गर्न यहाँहरूबाट भरपुर सहयोगको अपेक्षा गरेको छु, सोहीअनुसार आ–आफ्नो जिम्मवारी निर्वाह गर्नुहोला,’ उनले भने ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव गुरूङले संविधान निर्माणपछि गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी २०७४ फागुन ४ गतेदेखि २०७८ जेठ २८ गतेसम्म मुख्यमन्त्री थिए ।
विज्ञान विषयमा स्नातक मन्त्री गुरूङले पञ्चायतकालमै २०३४ सालदेखि राजनीति सुरू गरेका थिए । उनी २०२७ सालमा इशानेश्वर प्रमोद हाइस्कुल, भोर्लेटार लमजुङमा अनेरास्ववियुको तर्फबाट स्ववियु सचिव निर्वाचित भएका थिए ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत बनिसकेका  गुरूङ प्रतिनिधिसभा निर्वाचन, २०७९ मा लमजुङ निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर