व्यवस्थित शहरी विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राख्छु : उपप्रधानमन्त्री सिंह

नवनियुक्त उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नवगठित सरकारले राजनीतिक स्थिरता, व्यवस्थित शहरी विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा पदबहालीपछि सञ्चारकर्मीको जिज्ञासामा उपप्रधानमन्त्री सिंहले अस्थिरताबाट गुज्रिरहेको राष्ट्रिय राजनीतिलाई स्थिरता र स्थायित्व प्रदान गर्न संसद्मा रहेका ठूला दुई दलबीचको सहमतिमा सरकार गठन भएको प्रतिक्रिया दिए ।

उपप्रधानमन्त्री सिंहले भने, ‘मन्त्रालयको काम, कर्तव्य र अधिकारको सीमाभित्र रही नेपालका शहरलाई जनताको चाहनाअनुरूप आधुनिक, सुविधाजनक र व्यवस्थित गर्नेतर्फ काम अघि बढाइने छ ।’

विगतमा जनअपेक्षाअनुरूप काम भएन भन्ने गुनासालाई अन्त्य गर्न ठूला दल मिलेर बनेको वर्तमान सरकारले विशेष ध्यान दिने उल्लेख गर्दै उनले जनहितका काम र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । उनी मन्त्रालय पुग्दा सचिव मणिराम गेलाललगायत कर्मचारीले स्वागत गरेका थिए ।

विद्यार्थी राजनीतिदेखि उपप्रधानमन्त्रीसम्म
नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंह र मङ्गलादेवी सिंहका सुपुत्रका रूपमा सिंहको जन्म २०१२ वैशाख १ गते काठमाडौँमा भएको हो । विज्ञान विषयमा स्नात्तकोत्तर उनी २०३० सालदेखि नेपाल विद्यार्थी सङ्घको राजनीतिमा प्रवेश गरेका थिए ।

नेपाली कांग्रेस काठमाडाैँ जिल्ला कार्यसमितिको नेतृत्व गर्दै पार्टी केन्द्रीय सदस्य बनेका सिंहले नेपाली कांग्रेसको उपसभापति र महामन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । उनले यसअघि जनसङ्ख्या तथा वातावरण, स्थानीय विकास, भौतिक पूर्वाधार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत नेतृत्व सम्हालिसकेका छन् ।

पछिल्लो समय नेता सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *