त्रिशूलीमा हराएकाको खोजी आज पनि जारी, भारत र बंगलादेशसँग सहयोग माग

गत शुक्रबार नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदो सहितको पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका दुई बस र त्यसमा सवार यात्रुको खोजी आज पनि जारी छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीका टोलीले शुक्रबारदेखि खोजी कार्य जारी राखेका छन् । खोज तथा उद्धार कार्यमा सशस्त्र प्रहरीको गोताखोरसहित करिब पाँच सय जनाको टोली परिचालन गरिएको छ ।

दुर्घटनामा परेका दुई वटा बसमा कम्तिमा ६५ यात्रु सवार थिए । तीमध्ये तीन जनाले पौडिएर ज्यान जोगाएका थिए ।

बेपत्ता भएका यात्रुमध्ये अहिलेसम्म १२ जनाको शव फेला परेको छ । तीमध्ये पाँच जनाको सनाखत भएको छ भने सात जनाको सनाखत हुन बाँकी छ ।

हिजो भारतको वाल्मीकि नहरमा चार वटा, नवलपुरको मध्यविन्दुमा एक, पश्चिम नवलपरासीको सुस्ता–४ मा एक र भरतपुर–२६ सिसुवारमा एउटा शव भेटिएको थियो ।

यसैबीच, सरकारले दुई बससँगै हराइरहेका यात्रुहरूको खोजीका लागि भारत र बंगलादेशसँग सहयोग मागेको छ ।

गृहसचिव एकनारायण अर्यालसहितको टोलीले हिजाे सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयले भारत र बंगलादेशका अधिकारीहरुसँग सम्पर्क गरी सहयोग माग गरेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर