शपथ लिएसँगै सोमबारै मन्त्रिपरिषद्लाई पूर्णता दिने ओलीकाे कसरत

नवनियुक्त प्रधानमन्त्री केपी ओलीले सोमबार शपथ लिएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँगको परामर्श र पार्टीभित्र आन्तरिक गृहकार्यपछि उनले पहिलो चरणमै पूर्णता दिने गरी तयारी गरेका हुन् । यद्यपि, यसको औपचारिक टुंगो भने सोमबार मात्रै लाग्ने नेताहरूले बताएका छन् ।

देउवासँगको पछिल्लो छलफलमा एमालेले प्रधानमन्त्रीसहित कम्तीमा सात र कांग्रेसले उपप्रधानमन्त्रीसहित आठ मन्त्रालय राख्ने गरी समझदारी बनेको छ । बाँकी मन्त्रालय साना दललाई बाँडफाँट गर्ने र दुवै प्रमुख दलबाट एक–एकजना उपप्रधानमन्त्री बनाउने समझदारी छ । जसअनुसार कांग्रेसबाट नेता प्रकाशमान सिंहले उपप्रधानमन्त्रीसहित सरकारमा पार्टीको नेतृत्व गर्नेछन् भने एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्दै छन् ।

कांग्रेसले गृहसहित परराष्ट्र, ऊर्जा, स्वास्थ्य, पर्यटन, सहरी विकास, कानुन र वन तथा वातावरण मन्त्रालय लिने मोटामोटी समझदारी छ । त्यस्तै, एमालेले अर्थसहित, भौतिक योजना तथा पूर्वाधार विकास, सञ्चार, शिक्षा, उद्योग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था मन्त्रालय लिने प्रारम्भिक समझदारी छ । तर, अन्तिम टुंगो भने सोमबार मात्रै लाग्नेछ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले साझेदार दल कांग्रेससँग सोमबार शपथसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी प्रधानमन्त्रीले परामर्श गरेको बताए । ‘मन्त्रिपरिषद्लाई एकैचोटि पूर्णता दिऔँ भन्ने सुझाव दिएका छौँ, प्रधानमन्त्रीले कांग्रेससँग पनि त्यसअनुसार नै परामर्श गर्नुभएकाले उहाँहरूले पनि आवश्यक तयारी गर्नुभएको होला । गृहकार्य पूरा भएछ भने मन्त्रिपरिषद्ले सोमबारै पूर्णता पाउँछ,’ ज्ञवालीले भने ।

जसपाको उपेन्द्र यादव समूह र अशोक राई समूह तथा लोसपालाई पनि सोमबारै मन्त्रिपरिषद्मा समेट्ने गरी प्रधानमन्त्री ओलीले परामर्श गरेका छन् । उपमहासचिव ज्ञवालीका अनुसार जसपाको यादव समूह र लोसपाबाट प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूले शपथ लिनेछन् । अशोक राई समूह, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट भने टुंगो लाग्न बाँकी छ । जनमत पार्टीसँग मधेश प्रदेशमा पनि सहकार्य भएकाले केही दिनभित्रै केन्द्र सरकारका विषयमा टुंगो लाग्न सक्ने पनि उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *