सिमलताल पहिरो : उच्चतम प्रविधिको प्रयोगसहित बेपत्ताहरूको खोजी तीव्र (भिडियाे)

धमिलो पानी र लेदोसहितको बाढीले खोजीमा सकस

सशस्त्र प्रहरी बलले चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरो जाँदा त्रिशूलीमा बससहित बेपत्ता भएका यात्रुहरूको खोजी तीव्र बनाएको छ ।

शुक्रबार बिहान नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९, सिमलतालमा लेदोसहितको पहिरोसँगै दुईवटा यात्रुवाहक बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए, जसमा ६० भन्दा बढी यात्रुहरू रहेको बताइएको छ । यद्यपि, यकिन हुन अझै बाँकी छ । बसमा टिकट काटेकाबाहेक अन्य यात्रुहरू पनि रहेको हुन सक्ने अनुमान छ ।

शुक्रबार बिहानबाटै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बेपत्ताको खोजी कार्य जारी राखे पनि आशातीत परिणाम प्राप्त गर्न सकेको छैन । जसकारण सरकाप्रति आम नागरिकहरू रूष्ट छन् । सरकारले बेपत्ता नागरिकहरूको खोजी कार्यमा तदारूकता नदेखाएको गुनासो आम नागरिकको छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले त्रिशूली नदी सामान्य रूपमा बुझेको र त्यहाँ भएको परिस्थितिमा धेरै फरक रहेको बताए । उनले अहिले नदीमा लेदोसहितको बाढी आइरहेकाले पानी धमिलो हुँदा बेपत्ताहरूको खोजी कार्य प्रभावित बनिरहेको बताए । उनले धमिलो पानी र लेदोसहितको बाढीले सुरक्षा निकायले आशातीत परिणाम दिन नसकेको बताए ।

अहिलेसम्म भेटिएका शवहरू करिब ५५/६० किलोमिटरको फरकमा फेला परेको र बसको अवस्था अझै पत्ता नलागेको उनले बताए । उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तीनवटै सुरक्षा निकायसँग भएको उच्चतम प्रविधिको प्रयोग गरेर खोज्ने काम भइरहेको बताए । लेदो कम भएको र पानी केही मात्रामा संग्लिएको खण्डमा भने गोताखोर टोली नदीमा जान सक्ने र ड्रोन क्यामेरा प्रयोगबाट खोज्न सक्ने अवस्था आउने उनले बताए । रिबन मेथड, अण्डर वाटर ड्रोन र सोनार डिभाइस तीनवटै उपायको प्रयोग गरेर बपत्ताको खोजी भइरहेको उनले बताए ।

उनले विदेशबाट गोताखोर टोली ल्याएर खोज्दा परिणाम आउने भन्ने कुरा नेपालको परिवेशमा मेल नखाने बताए । विदेशमा समुन्द्रमा खोज्ने गोताखोर टोली र नेपालमा त्रिशुली लगायतका नदीमा खोज्ने कुरा फरक हुने बताउनु भयो । उनले गोताखोर टोलीले प्रयोग गर्ने सामग्रीहरू एउटै हुने भन्दै विदेशको गोताखोर टोली आउँदैमा नतिजा निस्किहाल्ने भन्ने नहुने बताए । नेपालकै गोताखोर टोलीले छिट्टै बेपत्ताहरूको खोजी गरी अवस्था पत्ता लगाउने आश रहेको उनले बताए ।

उनले सशस्त्र प्रहरी बलसँग अहिले ११० जना गोताखोर रहेको बताए । सशस्त्र प्रहरी बलसँग भएको ३७ हजार १५३ जनशक्तिमध्ये करिब २२ सय जनशक्ति विपद् उद्धारसँग सम्बन्धित तालिमप्राप्त जनशक्ति रहेको उनले बताए । अन्य १७ हजार ७२० जनशक्ति प्रत्यक्ष रूपमा परिचालित भएको पनि उनले बताए ।

के भन्छन् सशस्त्र प्रहरीका प्रवक्ता ? हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *