चौथो पटक प्रधानमन्त्रीको कुर्सीमा ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६ (२) अनुसार उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेससहितका दलको समर्थनमा ओली चौथो पटक प्रधानमन्त्री नियुक्त भएका हुन् । ओली यसअघि २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री भएका थिए । उनको शपथ सोमबार बिहान ११ बजे तय भएको छ ।

प्रधानमन्त्री पुष्पमकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत गुमाएसँगै शुक्रबार साँझ राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गरेलगत्तै कांग्रेस र एमालेले ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष प्रस्ताव पेस गरेका थिए ।

असार १७ गते कांग्रेससँग भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मको समय दिएका थिए । ओलीबाहेक अन्य कुनै पनि दलले प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गरेनन् ।

ओली प्रधानमन्त्री नियुक्त भएसँगै पहिलो चरणमा सानो मन्त्रिपरिषद् गठन गर्न कांग्रेस र एमाले गृहकार्यमा जुटेका छन् ।

कांग्रेसले प्रादेशिक सन्तुलन र समावेशिताका आधारमा सरकारमा सहभागी हुने मन्त्रीको छनोट गर्ने निर्णय गरिसकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा मन्त्री पठाउने तयारीमा छन् । उनी उपप्रधानमन्त्री  बन्ने नेताहरूले बताएका छन् । एमालेबाट अन्य मन्त्रीको टुंगो नलागे पनि अध्यक्ष ओलीले विष्णुप्रसाद पौडेललाई उपप्रधानसहित अर्थमन्त्री बनाउने तयारी गरेका छन् ।

सरकारमा एमालेले प्रधानमन्त्रीसहित आठ र कांग्रेसले गृहमन्त्रीसहित ९ मन्त्रालय पाउने सहमति कांग्रेस र एमालेले गरेका छन् । २१ मन्त्रालयमध्ये अन्य केही मन्त्रालय साना दललाई दिने सहमति एमाले र कांग्रेसले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर