सिमलताल पहिरोमा बेपत्ता बस र यात्रु खोज्न सुरक्षाकर्मीको संख्या बढाइयो

चितवनस्थित त्रिशूली नदीमा भएको बस दुर्घटनामा बेपत्ता यात्रुहरूको खोजीका लागि सुरक्षाकर्मीको संख्या बढाइएको छ ।

भरतपुर महानगरपालिका-२९, सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेका दुईवटा बस र त्यसमा सवार यात्रु खोज्न सशस्त्र प्रहरीले जनशक्ति थप गरेको हो ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार यसअघि परिचालित १४९ बाट बढाएर फौजको संख्या २०६ पुर्‍याइएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित १ सय ६ जना , नं. ३ गढीमाई बाहिनी र नं.१७ गण चितवनबाट डीएसपिको कमाण्डमा त्रिशूली र नारायणी नदीका विभिन्न ठाउँमा १ सय १३ जना , नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट गैंडाकोट, मध्यबिन्दु र देवचुलीका विभिन्न ठाउँमा ४१ जना खटाइएका हुन् ।

यसअघि प्रयुक्त सबै उपकरणसहित ७ वटा र्‍याफ्टबोट, एउटा मोटरबोट र एउटा कायाक खोजीमा प्रयोग भइरहेको छ ।

दुर्घटनामा हालसम्म पाँच जनाको शव फेला परेको छ । तीमध्ये तीन जनाको मात्र सनाखन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर