मुकुल ढकालको आरोप : स्वर्णिम वाग्लेको सचिवालयबाट कुट्ने धम्की आयो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले आफूलाई उपसभापति स्वर्णिम वाग्लेको सचिवालयबाट कुट्ने धम्की आएको आरोप लगाएका छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत ढकालले वाग्लेको सचिवालयबाट आफूलाई पटकपटक फोन गरिएको तर आफूले नउठाएको आफूसँगै बस्ने भाइलाई फोन गरेर कुट्ने धम्की दिएको आरोप लगाएका हुन् ।
‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटकपटक फोन गरे, फोन उठाइनँ,’ ढकालले लेखेका छन्, ‘मसँगै बस्ने भाइलाई फोन गरेर मुकुललाई कुट्छु, त्यसलाई छोड्दिनँ लगायत अनेक भनेकाले हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’
शनिबार राति एक टेलिभिजन अन्तर्वार्तामा ढकालले रास्वपा सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले भारतीय राजदूतलाई भेटेपछि आफूहरूलाई देशको नेतृत्व दिएमा नेपाललाई भारतको राज्य वा भुटानजस्तो बनाउन दिन सकिने आफूसँग बताएको विवादित अभिव्यक्ति दिएका थिए ।
उनले रवि लामिछाने, स्वर्णिम वाग्ले, शिशिर खनाल र आफूसमेतले काठमाडौंको एक होटलमा भारतीय राजदूतसँग भेट गरेको र सो भेट सकेर फर्कने क्रममा लिफ्टमा स्वर्णिमले त्यस्तो प्रस्ताव गरेको दाबी गरेका छन् ।
प्रतिक्रिया