अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पलाई गोली हान्ने संदिग्ध को हुन् ?

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हानेर हत्याको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ ।

अमेरिकाको संघीय जाँच ब्यूरो (एफबीआई) ले ट्रम्पलाई गोली हानेर मार्ने प्रयास गर्ने व्यक्ति २० वर्षीय युवक थोमस म्याथ्यु क्रुक्स रहेको खुलासा गरेको हो ।

एफबीआईले उनको पहिचान थप पुष्टि गर्न डीएनए र बायोमेट्रिक्स परीक्षण गरिने बताएको छ ।

एफबीआईका अनुसार क्रुक्स पेन्सिलभेनियाको बेथेल पार्कका बासिन्दा हुन् । ट्रम्पको हत्याको प्रयास भएको ठाउँबाट यो ७० किलोमिटर टाढा छ ।

‘यो अनुसन्धान अझै जारी छ, अनुसन्धानमा सहयोग गर्न सक्ने जानकारी भएका जोकोहीले फोटो वा भिडियो अनलाइन पेस गर्न सक्छन्,’ एफबीआईको विज्ञप्तिमा भनिएको छ ।

एफबीआईले यसलाई ट्रम्पको हत्याको प्रयास भनेको छ र यस पछाडिको कारण खुलिनसकेकाले अनुसन्धान भइरहेको जनाएको छ ।

शनिबार साँझ साढे ६ बजे पेन्सिलभेनियाको बट्लरमा चुनावी र्‍यालीको क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो ।

पुनः राष्ट्रपतिको दौडमा रहेका रिपब्लिकन उम्मेदवार ट्रम्प कान र छेउछाउको भागमा चोट लागे पनि सुरक्षित छन् ।

गोली लागेर र्‍यालीमा सहभागी एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते छन् ।

गोली चलेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्प सुरक्षित भएकामा राहत महसुस गरेको बताएका छन् । उनले अमेरिकामा यस प्रकारको हिंसाका लागि कुनै पनि ठाउँ नरहेको बताउँदै घटनाको निन्दा गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर