दैनिक ८ सय मेगावाटसम्म भारतमा बिजुली निर्यात

भारतीय बजारमा दैनिक आठ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ । प्रिमनसुन सुरु भएसँगै प्राधिकरणले गत १४ जेठबाट भारतमा यस सिजनको विद्युत् निर्यात सुरु गरेको थियो । त्यसवेला चार सय मेगावाटसम्म विद्युत् निर्यात भएको थियो । तर, बीचमा गर्मी अत्यधिक हुँदा स्वदेशी माग बढ्न गई विद्युत् निर्यात रोकिएको थियो ।

पछिल्लो समयमा भएको वर्षाले खोलाहरूमा पानीको बहाव बढेको छ । गत हप्ता बाढीका कारण बन्द गरिएका अधिकांश जलविद्युत् परियोजना सञ्चालनमा आइसकेका छन् । अधिकांश जलविद्युत् परियोजनाबाट पूर्ण क्षमतामै विद्युत् उत्पादन हुन थालेपछि स्वदेशमा खपत भएर बढी भएको बिजुली भारतमा निर्यात गर्न थालिएको छ । गत आइतबारयता भारतमा सात सय मेगावाटभन्दा बढी विद्युत् निर्यात हुन थालेको छ । शुक्रबार अर्थात् २९ असारमा भने अधिकतम ८१२ मेगावाट विद्युत् भारतमा निर्यात भएको नेपाल विद्युत् प्राधिकरणको तथ्यांक छ ।

यसअघि गत ६ कात्तिकमा भारतमा ७३२ मेगावाट विद्युत् निर्यात भएको थियो । यस वर्ष उक्त रेकर्ड तोडिएको हो । गत वर्ष २९ असारमा ३७५ मेगावाट विद्युत् निर्यात भएको थियो ।

गत २३ असारमा ७७८ मेगावाट, २४ असारमा ७४८ मेगावाट, २५ असारमा ७६९ मेगावाट, २६ असारमा ७८९ मेगावाट, २७ असारमा ७८९ मेगावाट र २८ असारमा ८१२ मेगावाटसम्म विद्युत् निर्यात भएको छ । आठ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भएको यो पहिलोपटक हो ।

भारतले आफ्नो बजारमा सात सय मेगावाटहारहारीमा विद्युत् निर्यात गर्न मिल्ने गरी परियोजना स्वीकृत गरेको छ । स्वीकृत सीमाभन्दा ५० प्रतिशतभन्दा विद्युत् बिक्री गर्न पाइने व्यवस्था छ । सोहीअनुसार विद्युत् निर्यात भइरहेको प्राधिकरणको भनाइ छ ।

अहिले दैनिक सात–आठ सय मेगावाटभन्दा बढी बिजुली भारत निर्यात भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनका अनुसार अहिले दैनिक रूपमा भइरहेको विद्युत् निर्यात हालसम्मकै उच्च छ । ‘गत वर्ष साढे ६ सय मेगावाटसम्म विद्युत् निर्यात गर्न सकेका थियौँ । अहिले सात–आठ सय मेगावाटभन्दा बढी बिजुली भारतमा निर्यात भइरहेको छ,’ उनले भने, ‘अहिले प्रतियुनिट पाँचदेखि ६ भारतीय रुपैयाँसम्ममा विद्युत् निर्यात भइरहेको छ ।’

उनका अनुसार ११० मेगावाट मध्यकालीन सम्झौताअनुसार भारतको हरियाणा प्रदेशमा निर्यात भइरहेको छ । प्राधिकरणले प्रतियुनिट ५.२५ भारु (८.४० रुपैयाँ)मा पाँच वर्षसम्म बर्खायाममा मात्रै दुई सय मेगावाट विद्युत् बिक्री गर्ने गरी भारतको एनटिपिसी विद्युत् व्यापार निगमन (एनभिभिएन)सँग मध्यकालीन सम्झौता गरेको थियो । त्यसमा भारतको केन्द्रीय विद्युत् प्राधिकरणले हालसम्म ११० मेगावाट विद्युत् बिक्री गर्न मिल्ने गरी परियोजना स्वीकृत गरेको छ । सोहीअनुसार मध्यकालीन बजारमा ११० मेगावाट विद्युत् निर्यात भइरहेको छ । बाँकी ९० मेगावाट विद्युत् बिक्रीका लागि परियोजना स्वीकृत हुने चरणमा रहेको प्राधिकरणको भनाइ छ ।

अन्य विद्युत् भने भारतको इनर्जी एक्सचेन्ज मार्केटअन्तर्गतको रियल टाइम र डे–अहेड बजारमा प्रतिस्पर्धी मूल्यमा बिक्री भइरहेको छ, त्यसको औसत मूल्य पाँचदेखि ६ भारतीय रुपैयाँसम्म छ । प्राधिकरणले यो बर्खामा हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य लिएको छ ।

हाल नेपालको विद्युत्को जडित क्षमता ३२ सय मेगावाटहाराहारी छ । अहिले विद्युत्को उत्पादन झन्डै तीन हजार मेगावाट छ । त्यसमा २३ सय मेगावाट विद्युत् नेपालमै खपत भइरहेको छ । अन्य विद्युत् भारतमा निर्यात भइरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले गत वर्षको बर्खा सिजन (जेठदेखि मंसिरसम्म)मा १५ अर्ब ६२ करोड रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको थियो । गत हिउँद (मंसिर–जेठसम्म) भने झन्डै १४ अर्बबराबरको विद्युत् आयात गरिएको थियो । प्राधिकरणले कात्तिक ०७८ यता भारतमा व्यावसायिक रूपमा विद्युत् आयात–निर्यात गर्दै आएको छ । त्यसभन्दा पहिला इनर्जी बैंकिङ (ऐँचो–पैँचो)का रूपमा नेपाल र भारतबीच विद्युत् आयात–निर्यात हुने गर्थ्यो । स्वदेशी माग धान्न नेपालले सन् १९७१ देखि नै भारतबाट विद्युत् आयात गर्दै आएको थियो ।

मंगलबारयता पाँच ठूला उद्योगमा काटियो लाइन

विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै पाँच उद्योगको लाइन काटेको छ । प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक्स र हुलास स्टिलमा विद्युत् कटौती गरेको हो । यी पाँच उद्योगले ४०–५० मेगावाटहाराहारीमा विद्युत् खपत गर्छन् ।

बक्यौता नतिरे अन्य उद्योगीको पनि लाइन काट्ने तयारीमा प्राधिकरण छ । प्राधिकरणका अनुसार ६१ उद्योगले डेडिकेटेड फिडर र ट्रंक लाइनबापतको आठ अर्ब २५ करोड ९७ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ । यो समाचार नयाँपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *