सधैँ धराप नारायणगढ-मुग्लिन सडक, वैकल्पिक मार्ग निर्माणबारे वर्षौँदेखि चर्चा

गुड्दागुड्दैका सवारीसाधन पहिरोमा पुरिएर तथा त्रिशूलीमा खसेर मान्छे मर्ने दुर्दशा अन्त्य गर्न पाँच अर्ब १३ करोड खर्चिएर दुई लेनमा स्तरोन्नति गरिएको मुग्लिन–नारायणगढ सडक सधैँ धराप नै छ । ०७५ मा स्तरोन्नति भएयता ६ वर्षमा यो सडकमा तीन सय ७९ सवारी दुर्घटना भएका छन् । जसमा ११७ जनाले ज्यान गुमाएका छन् भने ९७८ घाइते भएका छन् ।

विश्व बैंकको ऋण सहयोगमा नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत मुग्लिन–नारायणगढ ३६ किमिमध्ये मुग्लिनदेखि आँपटारीसम्म ३३ किमिलाई दुई लेनमा विस्तारसहित स्तरोन्नति गर्न तीन अर्ब ४० करोड खर्च भएको थियो । तीन अर्बको ठेक्कामा ७ वैशाख ०७२ मा काम सुरु भएकोमा पाँचपटकसम्म म्याद थपेर २४ साउन ०७५ मा स्तरोन्नति सक्दा तीन अर्ब ४० करोड खर्च भएको थियो । त्यस्तै, सडक स्तरोन्नति सकेपछि साँघुरा पुलको ठाउँमा नयाँ पुल बनाउन एक अर्ब २३ करोड खर्च भएको छ । १५ मध्ये चार पुल निर्माणाधीन छन् । थप ५० करोड खर्च पहिरोको जोखिम घटाउनमा भएको छ । ३१ ठाउँमा पहिरोको जोखिम पहिचान गरेर रोकथामका लागि काम गर्दा उक्त खर्च भएको सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ । तर, दुर्घटना र मानवीय क्षति न्यूनीकरण भएको छैन ।

यात्रुवाहक र मालवाहक गरी दैनिक ११ हजार सवारीसाधन गुड्ने यो सडकखण्डमा चालू आर्थिक वर्षमा मात्रै ५५ सवारी दुर्घटना भएका छन्, जसमा २१ जनाको मृत्यु भएको छ । असारका २९ दिनमा मात्रै १४ पहिरो खसेको र ४५ दिन सडक अवरुद्ध भएको सडक विभागको तथ्यांक छ । यो महिना १६ सवारी दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने ६७ घाइते भएका छन् । यसअघि जेठमा ६ दुर्घटनामा तीनको मृत्यु र २८ जना घाइते भएका थिए भने वैशाखमा पाँच दुर्घटना हुँदा दुईको मृत्यु र २४ घाइते भएका थिए । बर्खा लागेपछि कालीखोला, सिमलताल, हुक्दीलगायत ठाउँमा पटक–पटक पहिरो खसेको छ । यस अवधिमा घण्टौँसम्म सडक एकतर्फी मात्र सञ्चालन भएको छ ।

‘हामीले राखेको तथ्यांक ठुल्ठूला पहिरो खसेर सडक अवरुद्ध भएको हकमा मात्र हो,’ सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सागर कार्की क्षेत्रीले भने, ‘बर्खामा स–साना पहिरो त धेरै नै खसिरहन्छन्, त्यसको रिपोर्टिङ र तथ्यांक हामीसँग छैन ।’

अघिल्लो आर्थिक वर्ष ०७९/८० मा नारायणगढ–मुग्लिन सडकखण्डमा भएका दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने १५९ जना घाइते भएका थिए । प्रहरीले दुर्घटनाको कारणबारे छुट्टै तथ्यांक नराखे पनि बर्सात र चार्डपर्वका समयमा धेरै सवारी दुर्घटना भएको देखिन्छ ।

नेपालको राष्ट्रिय राजमार्गमा नारायणगढ–मुग्लिन सडकको महत्व पृथक् छ । यो सडकले हिमाल, तराई र पहाडलाई एकआपसमा जोडेको छ । पूर्वदेखि पश्चिमसम्मका अधिकांश नागरिक राधजानी आउजाउका लागि यही सडक प्रयोग गर्छन् । तराईका उत्पादित वा भारतबाट आयातित खाद्यान्नलगायत सामग्री काठमाडौैं, पोखराजस्ता ठूला सहरमा यही सडकबाट ढुवानी हुन्छ । त्यसैले नारायणगढ–मुग्लिन क्षेत्र अवरुद्ध हुँदा देशको समग्र आपूर्ति शृंखला नै प्रभावित हुन्छ । मध्यपहाडी लोकमार्ग र काठमाडौं जोड्न अन्य वैकल्पिक सडक भएपछि नारायणगढ–मुग्लिन सडकको महत्व भने उत्तिकै छ ।

वैकल्पिक मार्ग निर्माणबारे वर्षौँदेखि चर्चा, पारिपट्टि अध्ययनका लागि यसपालि बजेट 
मुग्लिन–नारायणगढ सडकले पटक–पटक पीडा दिए पनि उक्त सडकको विकल्प छैन । जब ठूला दुर्घटना र क्षति निम्तिन्छन् तब वैकल्पिक मार्गको चर्चा वर्षौँदेखि नै हुँदै आएका छन् । यसपालि भने सरकारले आगामी आर्थिक वर्षको बजेटमा वैकल्पिक राजमार्ग बनाउन सम्भाव्यता अध्ययनका लागि दुई करोड ६९ लाख ३२ हजार छुट्याएको छ । मुग्लिन–नारायणगढमा त्रिशूलीपारि सडकको सम्भाव्यता अध्ययन र रेखांकनलगायत काम सुरु गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले बताए ।

‘उक्त सडकमा पटक–पटक समस्या आइरह्यो । त्यसले नेपालकै आपूर्ति शृंखला पनि बिगा¥यो । त्यसैले, आगामी आवको बजेटमार्फत पारिपट्टि समानान्तर वैकल्पिक सडक बनाउने योजना अघि बढाएका छौँ,’ उनले भने, ‘मुग्लिनपारिबाट गाईघाट, दासढुंगा, ठिमुरा हुँदै गैँडाकोटसम्म सडक बनाउन अध्ययन हुनेछ ।’ मुग्लिनदेखि गैँडाकोटसम्म ३२ किमि दूरी पर्छ । कालीगण्डकीमाथि पुल बनेकाले यो सडक बने पश्चिमका गाडी चितवन आउनै पर्दैन ।

नारायणगढ–मुग्लिनमा किन जान्छ बर्सेनि पहिरो ?
सन् १९७०–७४ मा निर्माण गरिएको यो सडकमा बीच–बीचमा सामान्य विस्तारका काम भएकामा ठूला पहिरा गएका थिएनन् । ०६०/६१ ताका भने ठूलै क्षति हुने गरी पहिरो गयो । त्यसपछि विस्तारको योजना बन्यो । ०७५ मा सडकलाई विशेष रूपमा विस्तार गरिएकोमा झन् पटक–पटक पहिरो गएर चुनौती बनिरहेको छ । पूर्वाधारविज्ञ किशोर थापा नारायणगढ–मुग्लिन खण्डमा पहिरोको समस्या निम्तिनुमा बहुयामिक कारण औँल्याउँछन् ।

‘सडकको गुणस्तर कस्तो बनाउने भन्ने विषय डिजाइनमा निर्भर हुन्छ । तर, नेपालमा कति लेनको सडक बनाउने, कति बाक्लो कालोपत्रे गर्ने भन्ने विषयमा मात्रै डिजाइन सीमित छ । कस्तो भूगोलमा कस्तो सडक बनाउने भन्ने विषयमा पर्याप्त भौगर्भिक र प्राविधिक अध्ययन गरिँदैन । सडक चौडा गर्ने विषयमा मात्रै केन्द्रित भइन्छ,’ उनले भने, ‘नारायणगढ–मुग्लिन सडकको इन्जिनिरियङ पाटोमा म संलग्न छैन । तर, बाहिरबाट हेर्दा त्यहाँको भौगोलिक अवस्थालाई पर्याप्त मात्रामा केन्द्रमा नराखी सडकको डिजाइन गरी विस्तार गरेको देखिन्छ । त्यसैले त्यहाँ पटक–पटक बाढीपहिरो जाने गरेको जस्तो लाग्छ ।’

राजमार्गआसपास विनाअध्ययन र इन्जिनियरिङ जथाभावी सडक खन्नु पनि पहिरोको कारक बनेको उनको मूल्यांकन छ । ‘विशेषगरी पछिल्लो समय पालिकाहरूले इन्जिनियरिङ प्रक्रिया पूरा नगरी जथाभावी रूपमा सडक खनेका छन् । नारायणगढ–मुग्लिन सडकमाथि पनि त्यस्ता सडक खनेको बताइन्छ,’ उनले भने, ‘सायद, माथि खनेको सडकमा पर्याप्तमा मात्रामा इन्जिनियरिङ प्रक्रिया पूरा गरिएन होला । भल कसरी व्यवस्थापन गर्ने, बाढीपहिरो कसरी रोकथाम गर्ने भन्नेलगायत इन्जिनियर पाटोलाई केन्द्रमा राखिएन । त्यसपछि त्यहाँबाट आउने बाढीपहिरोले उक्त सडक प्रभावित भएको हुन सक्छ ।’ त्यस्तै, नेपाली पहाडको धरातल कमजोर हुनु, भूकम्पले थप कमजोर बनाउनुजस्ता कारण पनि मनसुनको समयमा बाढीपहिरो निम्तिने गरेको उनको बुझाइ छ ।

भौतिक पूर्वाधार तथा यातायात्र मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकाल पनि भौगोलिक अवस्थाअनुसार सडकको डिजाइन नभएको स्वीकार गर्छन् । ‘हामीले भौगोलिक अवस्थालाई प्राथमिकता नै नदिने भन्ने त हुँदैन । तर, जति दिनुपर्ने थियो, नभएको हुन सक्छ । डिजाइनका क्रममा केही छुटेका हुन सक्छन्,’ उनले भने ।

ढकालले अबका दिनमा पहिरो नियन्त्रणमा सहयोग गर्न जापानलाई आग्रह गरेको र हाल छलफलकै क्रममा रहेको पनि बताए । ‘नेपाल भौगोलिक रूपमा जटिल छ । तसर्थ, जापानले यहाँको पहाडी सडकमा हुन सक्ने बाढीपहिरोलाई नियन्त्रण गर्न आवश्यक सहयोग गर्ने इच्छा देखाएको छ । त्यसमा हामीले नारायणगढ–मुग्लिन सडक पनि प्रस्ताव गरेका छौँ,’ उनले भने । यो समाचार नयाँपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *