नारायणगढ-मुग्लिन सडकखण्डमा किन जान्छ पहिरो ?

सन् १९७०–७४ मा निर्माण गरिएको यो सडकमा बीच–बीचमा सामान्य विस्तारका काम भएकामा ठूला पहिरा गएका थिएनन् । ०६०/६१ ताका भने ठूलै क्षति हुने गरी पहिरो गयो । त्यसपछि विस्तारको योजना बन्यो । ०७५ मा सडकलाई विशेष रूपमा विस्तार गरिएकोमा झन् पटक–पटक पहिरो गएर चुनौती बनिरहेको छ । पूर्वाधारविज्ञ किशोर थापा नारायणगढ–मुग्लिन खण्डमा पहिरोको समस्या निम्तिनुमा बहुयामिक कारण औँल्याउँछन् ।

‘सडकको गुणस्तर कस्तो बनाउने भन्ने विषय डिजाइनमा निर्भर हुन्छ । तर, नेपालमा कति लेनको सडक बनाउने, कति बाक्लो कालोपत्रे गर्ने भन्ने विषयमा मात्रै डिजाइन सीमित छ । कस्तो भूगोलमा कस्तो सडक बनाउने भन्ने विषयमा पर्याप्त भौगर्भिक र प्राविधिक अध्ययन गरिँदैन । सडक चौडा गर्ने विषयमा मात्रै केन्द्रित भइन्छ,’ उनले भने, ‘नारायणगढ–मुग्लिन सडकको इन्जिनिरियङ पाटोमा म संलग्न छैन । तर, बाहिरबाट हेर्दा त्यहाँको भौगोलिक अवस्थालाई पर्याप्त मात्रामा केन्द्रमा नराखी सडकको डिजाइन गरी विस्तार गरेको देखिन्छ । त्यसैले त्यहाँ पटक–पटक बाढीपहिरो जाने गरेको जस्तो लाग्छ ।’

राजमार्गआसपास विनाअध्ययन र इन्जिनियरिङ जथाभावी सडक खन्नु पनि पहिरोको कारक बनेको उनको मूल्यांकन छ । ‘विशेषगरी पछिल्लो समय पालिकाहरूले इन्जिनियरिङ प्रक्रिया पूरा नगरी जथाभावी रूपमा सडक खनेका छन् । नारायणगढ–मुग्लिन सडकमाथि पनि त्यस्ता सडक खनेको बताइन्छ,’ उनले भने, ‘सायद, माथि खनेको सडकमा पर्याप्तमा मात्रामा इन्जिनियरिङ प्रक्रिया पूरा गरिएन होला । भल कसरी व्यवस्थापन गर्ने, बाढीपहिरो कसरी रोकथाम गर्ने भन्नेलगायत इन्जिनियर पाटोलाई केन्द्रमा राखिएन । त्यसपछि त्यहाँबाट आउने बाढीपहिरोले उक्त सडक प्रभावित भएको हुन सक्छ ।’ त्यस्तै, नेपाली पहाडको धरातल कमजोर हुनु, भूकम्पले थप कमजोर बनाउनुजस्ता कारण पनि मनसुनको समयमा बाढीपहिरो निम्तिने गरेको उनको बुझाइ छ ।

भौतिक पूर्वाधार तथा यातायात्र मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकाल पनि भौगोलिक अवस्थाअनुसार सडकको डिजाइन नभएको स्वीकार गर्छन् । ‘हामीले भौगोलिक अवस्थालाई प्राथमिकता नै नदिने भन्ने त हुँदैन । तर, जति दिनुपर्ने थियो, नभएको हुन सक्छ । डिजाइनका क्रममा केही छुटेका हुन सक्छन्,’ उनले भने ।

ढकालले अबका दिनमा पहिरो नियन्त्रणमा सहयोग गर्न जापानलाई आग्रह गरेको र हाल छलफलकै क्रममा रहेको पनि बताए । ‘नेपाल भौगोलिक रूपमा जटिल छ । तसर्थ, जापानले यहाँको पहाडी सडकमा हुन सक्ने बाढीपहिरोलाई नियन्त्रण गर्न आवश्यक सहयोग गर्ने इच्छा देखाएको छ । त्यसमा हामीले नारायणगढ–मुग्लिन सडक पनि प्रस्ताव गरेका छौँ,’ उनले भने ।

यो समाचार नयाँपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *