संरक्षणको पर्खाइमा विराट राजाको दरबार क्षेत्र
कोशी प्रदेशको राजधानी विराटनगरमा पर्ने भेडियारी बस्तीमा रहेको प्राचीन विराट राजाको दरबार क्षेत्र ऐतिहासिक सम्पदाको रूपमा परिचित छ । विराटनगर महानगरपालिका-१८, भेडियारीमा रहेको यो क्षेत्रलाई पाँच हजार वर्ष पुरानो इतिहासका रूपमा चिनिन्छ । तर, सम्बन्धित निकायबाट उपेक्षित अवस्थामा पुगेपछि महाभारतकालीन इतिहाससँग जोडिएको विराट राजाको दरबार क्षेत्र संरक्षणको पर्खाइमा छ । तीन तहको सरकारले यसको खोज-अनुसन्धान, संरक्षण, संवर्द्धन र विकासमा चासो नदिँदा स्थानीय स्वयं अग्रसर बनेका छन् ।
राजा विराट र उनको दरबारप्रति अगाध मोह र विश्वास राख्ने स्थानीय आगन्तुकलाई स्वयंसेवी रूपमा ‘गाइड’ गरिरहन्छन् । इतिहासका दृष्टिले प्रसिद्ध रहेको यो क्षेत्रमा अपेक्षाकृत ढंगले सरकारको चासो नपरेका कारण निराश बनेका स्थानीय विराटनगरको नाम र सम्मानसँग जोडिएको यो क्षेत्रमा राम्ररी उत्खनन गरी बहुमूल्य सामग्रीको अन्तर्राष्ट्रियस्तरको संग्रहालय बनाइसक्नुपर्ने भए पनि त्यसो हुन नसकेको गुनासो गर्छन् ।
विराट राजाको प्राचीन दरबार क्षेत्रमा महाभारतकालमा पाँच पाण्डव युधिष्ठिर, भीम, अर्जुन, नहकुल र सहदेव र पाँच पाण्डव पत्नी द्रौपदी एक वर्षसम्म गुप्तवास बसेको विश्वास गरिन्छ । त्यस क्रममा उनीहरूले आफ्नो भेष नै बदलेर राजा विराटको दरबारमा लुकेर बसेको जनविश्वास रहँदै आएको छ ।
विराटनगरको मुख्य बजारबाट करिब १० किलोमिटर दक्षिणमा रहेको यो क्षेत्रमा अलगअलग समयमा उत्खनन हुँदा थरीथरीका पुरातात्विक सामग्रीहरू फेला परेका छन् , जसलाई संग्राहालय स्थापना गरेर संरक्षण गरिएको छ । विभिन्न क्षेत्रमा भेडियारी बस्ती वरिपरि उत्खनन् गर्दा थुप्रै पुरातात्विक अवशेषहरू फेला परेका छन्, जसलाई आफ्नै किम्वदन्ती तथा राजा विराटको गाथासँग गाँसेर पुरातत्वविदहरूले प्रमाणित गर्ने जमर्को गरेका छन् ।
उत्खननका बेला फेला परेका खेतीपाती गर्दा, घर बनाउँदा, शिकार खेल्दा, घरायसी काम गर्दाका वस्तु, ढुंगाको पिर्का र शिवलिंग आकारका वस्तुहरू स्थानीय संरक्षणकर्ता कमलकिशोर यादवले संरक्षण गरेर राखेका छन् । जमिनको गर्भगृहबाट सतहमा निस्केर भेडियारी बस्ती र सिंगो विराटनगर शहरकै कथा सुनाउने महत्त्वपूर्ण पुरातात्विक सामग्रीहरू कमलकिशोरको संग्रहालयमा सुरक्षित छन् ।
ऐतिहासिक र पुरातात्विक महत्त्वका क्षेत्रलाई संरक्षण, संवर्द्धन र विकास गरेमा एउटा नमुना पर्यटकीयस्थल बन्नेमा दुईमत छैन । तर, यस क्षेत्रको संरक्षण, संवर्द्धन र जगेर्नामा सम्बन्धित निकायले चासो नदिँदा स्थानीयले संरक्षण-प्रवर्द्धनको जिम्मेवारीमा काँध थापेका छन् । करिब २८ वर्षअघि समिति बनाएर आफू नेतृत्वको संस्था दर्ता गरेका संरक्षक कमलकिशोर यादव र समितिको पदाधिकारीका रूपमा रहेका केही स्थानीयले यसको रेखदेख गरिरहेका छन् ।
प्राचीन सम्पदा एवं जमिनभित्रका बहुमूल्य वस्तु नासिने, मासिने र चोरी हुने जोखिम टार्ने गरी उनीहरू लागिपरेका छन् । विराट राजाको दरबार ब्युँताउने गरी तीनै तहका सरकार लाग्नुपर्ने भए पनि केन्द्रीय सरकार र प्रदेश सरकारबाट अपेक्षाकृत काम नभएको विराटनगर-१८ का वडाध्यक्ष जितेन साह बताउँछन् ।
विराटनगर महानगरपालिकाले भने यस क्षेत्रमा विराट राजाको दरबार बनाउने योजनालाई पूर्णता दिन विगत लामो समयदेखि कसरत गर्दै आएको जनाएको छ । विराट राजाको दरबार परिसरमा रहेको धरोहर पोखरी झन्डै १ करोड लागतमा निर्माण भइसकेको छ । विराट राजाको दरबारमा ऐतिहासिकता र आधुनिकताको संगम हुने गरी काम गरिरहेको महानगर प्रमुख नागेश कोइराला बताउँछन् ।
कोशी प्रदेश सरकार पनि ऐतिहासिक विराट राजाकोे दरबारमा खोज अनुसन्धान, संरक्षण, संवर्द्धन र विकासमा काम गर्ने तयारीमा छ । यसअघि प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले विराट राजदबारको क्षेत्रलाई पहिचान गरी विकास गर्ने गरी बजेट विनियोजन गरेको थियो । तथापि, संघीय सरकारमातहतको पुरातत्व विभागले यसको खोज-अनुसन्धान, संरक्षण र विकास गरिरहेकाले त्यसैमा पर्यटन प्रवर्द्धन हुने गरी सघाउ भूमिकामा काम गरिरहेको मन्त्रालयका सचिव विशाल घिमिरेको भनाइ छ ।
ऐतिहासिक र पुरातात्विक सम्पदा मासिनु भनेको जनताको स्मृति मासिनु हो । आउने पुस्ताले सुन्ने र सुनाउने कथाहरू मासिनु हो । यसैले यहाँ जमिनमुनि पुरिएर रहेका मन्दिर र दरबार उत्खनन गरी जिर्णोद्धार बनाएर जीवित उदाहरण बनाएमा समृद्ध मुलुकको अभियानलाई सार्थक तुल्याउन सकिन्छ । यस क्षेत्रको विकासका लागि राज्य मात्र नभएर गैरसरकारी संस्था, धार्मिक संघसंस्थाहरूको पनि उत्तिकै भूमिका हुन सक्छ ।
प्रतिक्रिया