कांग्रेसले कसरी छनोट गर्दै छ मन्त्री ? यस्तो छ मापदण्ड

नेपाली कांग्रेसले योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनलाई मुख्य आधार बनाएर सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्ने भएको छ ।

शनिबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने सरकारमा सहभागी हुने निर्णयसहित मन्त्री छनोटको मापदण्ड तय गरेको हो ।

योगदान र योग्यतालाई मुख्य आधार बनाएर प्रादेशिक सन्तुलन र समावेशिताका आधारमा सरकारमा जाने मन्त्रीहरू छनोट गर्ने निर्णय बैठकले परेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

त्यसैगरी बैठकले नारायणगढ-मुग्लिन सडकको सिमलतालमा पहिरोमा परेर दुई बस त्रिशूली नदीमा खस्दा करिब ५ दर्जनभन्दा बढी यात्रुहरूको अवस्था अज्ञात रहेको र कास्कीमा एकै परिवारका ७ सहित ११ जनाको पहिरोमा परी मृत्यु भएको घटना तथा अविरल वर्षाका कारण देशभरि विभिन्न भूभागमा बाढी, पहिरो र डुबानमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

यस्तै युद्धस्तरमा उद्धार, हराएकाहरूको खोजी, नागरिकलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियताका साथ लाग्न बैठकले सम्बन्धित निकायलाई आग्रह गरेको छ । प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको प्रवक्ता महतले बताए ।

कांग्रेसले सडक दुर्घटना न्यूनीकरण गर्न पर्याप्त अध्ययन गरी आवश्यक कानुनी व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण पनि गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *