कांग्रेस र एमालेबीचको सत्ता सहकार्य, चौथोपटक प्रधानमन्त्री बन्दै ओली

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्य भएसँगै केपी शर्मा ओली चौथोपटक नेपालको प्रधानमन्त्री बन्ने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै कांग्रेस र एमालेले शुक्रबार राति नै ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गरेका छन्। ओली सम्भवतः आइतबारसम्ममा मुलुकको नयाँ प्रधानमन्त्री नियुक्त भइसक्नेछन्।

कांग्रेसका ८८, एमालेका ७७, जसपा ७, जसपा नेपाल पाँच, जनमत पार्टी ६, लोसपा ४, नागरिक उन्मुक्ति पार्टीका चार र स्वतन्त्रसहित गरी दुई तिहाइभन्दा बढी सांसदको समर्थनमा ओली प्रधानमन्त्री बन्न लागेका हुन्।

एमाले संसदीय दलका नेता ओली पहिलोपटक २०७२ असोज २४ गते प्रधानमन्त्री भएका थिए। संविधान निर्माणपछि माओवादी, राप्रपा र राप्रपा नेपालको समर्थनमा उनले उनले १० महिना सरकार सञ्चालन गरे ।

०७४ मा एमाले–माओवादीबीचको वाम गठबन्धन बनाएर चुनावमा गए। करिब दुई तिहाइनजिक बहुमत ल्याएर २०७४ फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री बने। ०७५ जेठमा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भयो।

पार्टीमा किचलो उत्पन्न भएपछि २०७७  पुस ५ मा उनले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरे। सर्वोच्च अदालतले ०७७ फागुन ११ गते विघटन असंवैधानिक भन्दै पुनःस्थापना गरिदियो।

७८ वैशाख २७ मा ओलीको सरकारले सदनमा विश्वासको मत गुमायो। त्यतिवेला उनले तीन वर्ष तीन महिना सरकार चलाए।

सरकार ढलेपछि तत्कालीन राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि आह्वान गरिन्। त्यसका लागि वैशाख ३० गतेसम्मको समय दिइएको थियो। कुनै पनि दलले बहुमत पुर्‍याउन नसकेको भन्दै राष्ट्रपतिले ओलीलाई नै अल्पमतको प्रधानमन्त्री नियुक्त गरिन्।

तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका ओलीले ०७८ जेठ ८ गते फेरि प्रतिनिधिसभा विघटन गरिदिए।  असार २८ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्नुका साथै कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्‍यो।

‌ओलीको तेस्रो कार्यकाल दुई महिनाको मात्र रह्यो।

कांग्रेस-एमालेबीच सत्ता सहकार्यको सिलसिला

नेपाली कांग्रेस र नेकपा एमालेबीच यसअघि पटकपटक सत्ता सहकार्य भइसकेको छ। मुलुकमा भएको ठूला राजनीतिक परिवर्तनमा यसअघि दुई दलबीच पाँचपटक सहकार्य भएको छ। पछिल्लो समय २०७० मा संविधान जारी गर्ने वेला दुई दलबीच सत्ता सहकार्य भएको थियो।

पहिलोपटक २०५५ मा कांग्रेस-एमालेबीच सत्ता सहकार्य भएको थियो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा एमालेले भरतमोहन अधिकारीको नेतृत्वमा सरकारमा सहभागी भएको थियो। यो सरकारले २०५६ वैशाखमा आम निर्वाचन गराएको थियो।

२०६१ मा दुईबीच दोस्रोपटक सत्ता सहकार्य भएको थियो। तत्कालीन राजा ज्ञानेन्द्र शाहले शेरबहादुर देउवालाई २०६१ चैत २१ गते प्रधानमन्त्रीमा नियुक्त गरे। प्रतिगमन आधा सच्चिएको भन्दै एमाले पनि देउवा नेतृत्वको सरकारमा सहभागी भएको थियो।

२०६३ वैशाख १२ गते गठन भएको गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम संविधानअनुसार बनेको सरकारमा पनि एमाले सरकारमा सहभागी भएको थियो। एमाले सहाना प्रधानको नेतृत्वमा सरकारमा सहभागी गराएको थियो।

२०६६ जेठमा चौथोपटक सत्ता सहकार्य भयो। कांग्रेसको प्रस्तावमा तत्कालीन एमाले नेता माधवकुमार नेपाल २०६६ जेठ ११ गते प्रधानमन्त्री बने। कांग्रेसले सुजाता कोइरालाको नेतृत्वमा दलको तर्फबाट सरकारमा पठाएको थियो।

२०७० माघ २७ गते कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री बने। फागुन १३ गते एमालेको तर्फबाट सरकारमा सहभागी भयो। यही सरकारले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेको थियो।

संविधान जारी गर्ने वेला कांग्रेसको नेतृत्वमा सरकार बनाउने र कार्यान्वयनका बेला एमालेलाई सरकारको नेतृत्व दिने दुई दलबीच सहमति बनेको थियो। पछि दुई दलबीच कुरा नमिलेपछि एमालेले सरकारको नेतृत्व गर्न पाएन।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर