मस्त निद्रामा पहिरोसँगै नदीमा बग्यो यात्रुबस, शोकाकुल छन् परिवार

अविरल वर्षा, मस्त निद्रामा रहेका यात्रु अनि आफ्नै गतिमा गन्तव्यतर्फ चलिरहेको यात्रुबस त्रिशूलीमा डुब्दा वीरगन्ज–काठमाडौं रुटको बसमा सवार पर्साका एकै परिवारका तीनसहित १४ जना बेपत्ता भएका छन् । नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोमा परी पर्साका १४ जना बेपत्ता भएका हुन् ।

पर्साको रङ्गपुरबाट वीरगन्ज हुँदै काठमाडौँका लागि छुटेको प्रदेश ३–०१–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा सवार २४ मध्ये १४ जना पर्साकै हुन् । २१ जना यात्रु र तीन जना बसका कर्मचारी गरी २४ जना सवार यात्रुबस शुक्रवार बिहान साढे तीन बजे पहिरोको लेदोसँगै बगाएको हो ।

शोकाकुल छन् परिवार

सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवका अनुसार सखुवा प्रसौनी गाउँपालिका–२ जमुनियाका हृदयनारायण चौधरी थारू, उहाँकी पत्नी भगवती थरुनी र छोरी चन्द्रप्रभा बससँगै बेपत्ता छन् । उक्त बसमा सवार सखुवा प्रसौनी गाउँपालिकाको श्रीपुरमा रहेको अस्पतालमा कार्यरत रेडियोग्राफर कलैया उपमहानगरपालिकाका सृष्टि यादव र ल्याब असिस्टेन्ट सखुवा प्रसौनी गाउँपालिका–३, कटैया देवरवानाका रैफुल अन्सारी पनि बेपत्ता छन् ।

बसका चालक वीरगन्ज महानगरपालिका–१६ नगवाका जवाहिर महतो, उहाँका मितभाइ वीरगन्ज महानगरपालिका–१६, नगवाका हरिन्द पण्डित, बसका सहयोगी कुमार र बसका कन्डक्टर बसधनीका भाइ काठमाडौँ निवासी राजेन्द्र केसी पनि बेपत्ता छन् । त्यसै गरी वीरगन्ज बसपार्कका रवीन दुबे, रघुनाथपुरका सलिम मियाँ, उहाँकी पत्नी जैनब खातुन, रामनगरीका सुजितसहित दुई जना, वीरगन्ज चिनीमिल पिपराका प्रकाश पटेलसहित दुई जना पनि बससँगै त्रिशूलीमा बेपत्ता छन् ।

वीरगन्जस्थित एन्जल डिलक्स टिकट काउन्टरले उपलब्ध गराएको तथ्याङ्क अनुसार बसमा सात जना भारतीय नागरिक र दुई ज बाराको मुसहर्वाका प्रमानन्द पण्डित र कलैयाकी सृष्टि यादव छन् ।

बिदामा भएकाले बाँचेँ : सहचालक राहुल

पर्साको पोखरिया नगरपालिका–४, पोखरिया बजारका राहुल साह कानु विगत दुई वर्षदेखि सोही बसमा सहचालक कन्डक्टरको काम गर्दै आउनुभएको थियो । असार २५ गतेदेखि नै घरायसी काम भन्दै उहाँ धान रोपाइँका लागि बिदामा बस्नुभएको थियो । बस बेपत्ता भएको समाचार सुनेपछि वीरगन्जस्थित बस काउन्टरमा  राहुलले भने, बिदामा बसेकाले बाँचे छु । दुःखद् घटना भयो । भावविह्वल छौँ हामी ।यो समाचार गोरखापत्र दैनिकमा छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर