‘क्यास एप’मार्फत कारोबार गर्ने गिरोह पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘क्यास एप’मार्फत रु. पाँच करोड बराबरको कारोबार गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ ।

मोरङ उर्लाबारी महानगरपालिका-८ घर भई हाल काठमाडौँ रविभवन बस्ने २२ वर्षीय गौरभ भट्टराई, सोही ठाउँका २३ वर्षीय सुजन दाहाल, ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-६ का २२ वर्षीय सिद्धार्थ नेपाली, सुनसरी धरान उपमहानगरपालिका-१५ का २४ वर्षीय आशुतोष कोइराला तथा मोरङ उर्लाबारी महानगरपालिका–७ का २४ वर्षीय मिलन मिश्रलाई पक्राउ गरी आज सार्वजनिक गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार आरोपितहरूले ‘क्यास एप’नामक अनलाइनको प्रयोग गरी अवैध आर्थिक कारोबार गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो । उनीहरूले ‘नगद एप सर्भर’को पहुँच दिई छवटा इसेवा वालेट, पाँचवटा आइपिएस खाता जडान र सोही खाता मेरो लिंकअप भएका १९ वटा विभिन्न बैंकका खाताहरूसमेतमा अवैध तरिकाले क्यास एपमार्फत रु. पाँच करोड बराबरको आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी आचार्यले बताए ।

उनका अनुसार पक्राउ परेकाहरूको साथबाट आइफोन पाँच थान, ल्यापटप तीन थान  बरामद गरिएको छ । निजहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) कसुरमा र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्रा प्रयोग गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर