रघुगंगाको तटबन्ध बगाएपछि गलेश्वर र राहुघाट जोखिममा

म्याग्दीको रघुगंगा नदीमा आज आएको बाढीले रघुगंगा गाउँपालिका–३ राहुघाटमा सडक र बेनी नगरपालिका–९ गलेश्वरमा तटबन्ध बगाएको छ। बाढीले तटबन्ध र सडक कटान गरेपछि बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ।

रघुगंगा नदीले बेनी नगरपालिका–९ गलेश्वरतर्फ बाढी नियन्त्रणका लागि निर्माण गरेको तटबन्ध भत्काएको छ। गलेश्वरको बस्ती, पक्की पुल र राहुघाटको बस्ती बाढीको जोखिममा परेको राहुघाटका लक्ष्मण चालिसेले बताए। गलेश्वरतर्फका १० घर जोखिममा परेका छन्।

राहुघाट र कालीगण्डकीको दोभानबाट ढुंगा, गिट्टी र बालुवा निकाल्न डोजरका लागि बनाइएको बाटोबाट बाढी पसेर सडक कटान गरेको हो। रघुगंगाको कटानका कारण राहुघाटस्थित गायत्री मन्दिर क्षेत्र जोखिममा परेको स्थानीय पदम छन्त्यालले बताए।

बेनी–जोमसोम–कोरला सडकको म्याग्दीखण्ड राहुघाटसहित चार ठाउँमा पहिरोका कारण अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा मुस्ताङ, अन्नपूर्ण गाउँपालिका र रघुगंगा गाउँपालिकाको यातायात सेवा प्रभावित बनेको छ। बेनी–जोमसोम सडक आयोजनाका सब ईञ्जिनियर सोहनजंग कार्कीका अनुसार रघुगंगा गाउँपालिकाको राहुघाट, बैसरी, सिरुवारी र कालीओडारमा पहिरो तथा कटानका कारण सडक अवरुद्ध भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *