कांग्रेस-एमाले एकाएक सहमतिमा पुग्नुपर्ने अवस्था कसरी आयो ? : रवि लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचको सहमतिको औचित्य र आवश्यकताप्रति आशङ्का व्यक्त गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभा बैठकमा राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उहाँले संसद्भित्रका दुई ठूला दलबीच नयाँ सरकार गठन गर्ने भएको सहमति राष्ट्रिय सहमति नभएको जिकिर गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत लामिछानेले अहिले संविधान परिमार्जन र संशोधनको आवश्यकता देखाएर सत्तास्वार्थका लागि सहमति गरिएको आरोप लगाए ।

‘संविधान जोगाउने नाममा कसलाई जोगाउन खोजिएको हो, त्यो सहमतिपत्र आएपछि खुल्ला तर आजको दिनमा संविधान जोगाउन यो सहमति भएको कम्तीमा पनि म र मेरो पार्टी स्विकार्न तयार छैन,’ उनले भने, ‘हामीलाई आशङ्का छ । एकाएक सहमतिमा पुग्नुपर्ने अवस्था कसरी आयो ?’

प्रधानमन्त्री दाहालललाई आफ्नो दलले विश्वासको मत दिने बताउँदै उनले राजनीतिक इमान छाडेर नेकपा (एमाले) सरकार परिवर्तनमा लागेको आरोप लगाए । गृहमन्त्री लामिछानेले दुई ठूला दल एक ठाउँमा आउँदा शक्ति पृथकीकरणमा सङ्कट आउन सक्ने भन्दै चिन्ता व्यक्त गरे ।

उनले देशमा प्राकृतिक विपत्ति परेका बेला सरकार गिराउने काममा राजनीतिक दलको मुख्य कार्यभार हुनु अशोभनीय भएको धारणा राखे ।

उपप्रधानमन्त्री लामिछानेले सरकार परिवर्तनको माहोलबीच पनि रास्वपाका मन्त्रीहरू अन्तिमसम्म आफनो जिम्मेवारीमा डटेर लागिपरेका बताए । उनले सहकारी रकम दरूपयोग सम्बन्धमा छानबिन गर्न गठित समितिमा नयाँ बन्ने सत्तागठबन्धन दलको बहुमत पुग्ने भएकाले आफूलाई दोषी प्रमाणित गर्न सक्ने आशङ्का व्यक्त गरे ।

‘भ्रष्टाचारका फाइल खोल्न थालेको २४ घण्टामा सरकार परिवर्तन गर्ने काम भयो, अब त तपाईंहरूको संसदीय समितिमा पनि बहुमत हुने भयो । मलाई ठग प्रमाणित गर्न आपत् पनि पर्दैन होला, गर्नुहोस् । यो देशमा कोही न कोही त जेल जानैपर्छ, सुरूआत मबाट गर्नुहोस्, म तयार छु । तर, सत्यबाट विमुख हुनेवाला छैन,’ उनले भने ।

सभापति लामिछानेले रास्वपाले प्रतिपक्षका रूपमा सुशासन र समुन्नतिका विषयमा नयाँ सरकारले चाल्ने कदममा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर