प्रधानमन्त्रीलाई मेटमणिको आग्रह : देउवासँगको सम्बन्ध सन्तुलनमा राख्नू, ४ महिनामै परिस्थिति अनुकूल हुन्छ

नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले चार महिनापछि परिस्थिति प्रधानमन्त्री पुष्पकमल दाहालका लागि अनुकूल हुने भन्दै कांग्रेससँगको सम्बन्धलाई सन्तुलनमा राख्न आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक चौधरीले वर्तमान सत्तारूढ गठबन्धन भत्किनुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दोष नदिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

उनले चार महिनापछिको परिस्थिति दाहालकै पक्षमा हुने बताए । उनले कांग्रेस सभापति देउवालाई देशको लोकतान्त्रिक राज्य व्यवस्था कमजोर र संसद विघटन हुने गरी साक्षी नबस्न पनि सुझाव दिए ।

‘आज परिस्थिति जस्तो भए पनि नेपाली कांग्रेसका सभापतिलाई दोषी तपाईं कत्ति पनि नदेख्नु होला । उहाँसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुहोला । चार महिनामै परिस्थिति अनुकूल भइ त हाल्छ, १०० प्रतिशत,’ चौधरीले भने, ‘आजको मितिले चार महिना गनेरै बसौं । चार महिनामा अनुकूल परिस्थिति तपाईंकै पक्षमा हुन्छ । त्यसैले सबैसँग बराबरमा रहेर व्यवहार गर्नुहोला, यो मेरो अनुरोध छ ।’

प्रमुख सचेतक चौधरीले दुई ठूला दल मिल्दा असंवैधानिक काम पनि संवैधानिक हुन्छ भनी प्रश्न गरे । आगामी सरकार संविधानको धारा ७ ६(३) बमोजिम बन्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *