जातजातिका नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रचण्डलाई सांसद भट्टराईको चेतावनी

नेकपा(एमाले) का सांसद योगेशकुमार भट्टराईले जातजातिका नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले विभिन्न जाति, भाषा, धर्म, संस्कृतिको नाममा आगो बाल्न सकिन्छ कि भनेर दुष्प्रयत्न नगर्न प्रधानमन्त्री दाहाललाई चेतावनी दिए ।

प्रधानमन्त्री दाहालले विश्वासको मत माग्ने क्रममा संविधान संशोधन गर्ने भए दलितको जनसंख्याअनुुसारको अनिवार्य प्रतिनिधित्व गर्न नेपाली कांग्रेस र नेकपा (एमाले) सँग आग्रह गरेका थिए । यस्तै उनले महिला प्रतिनिधित्वको विषय पनि उठाएका थिए ।

सांसद भट्टराईले संविधान संशोधन अग्रगमनका लागि गर्न लागेको बताए । उनले पश्चगमनका लागि संविधान संशोधन नगर्ने बताए ।

उनले प्रधानमन्त्रीलाई आज एकाएक जाति, भाषा, धर्म, संस्कृति, मधेस, दलित र महिलाको याद आएको भन्दै तपाईंका लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् भनी प्रश्न गरे । उनले प्रधानमन्त्री दाहालका लागि हतियार बोकेका तमाम दलित युवाहरू कहाँ छन् भनेर पनि प्रश्न गरे ।

‘जाति, भाषा, धर्म, संस्कृति, मधेस, दलित, महिला आज झलझली प्रधानमन्त्रीजीलाई याद भयो । तपाईंको लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् ? तपाईंका लागि हतियार बोकेका तमाम दलित युवाहरू आज कहाँ छन् ? खोज्नुभयो ?,’ उनले भने, ‘आज कसरी आयो एकाएक ? म भन्न चाहन्छु यो संसदमा कमै सिट होला तर प्रत्यक्षबाट निर्वाचित भएर आउने दलित प्रतिनिधिसभा सदस्य कोही छ भने त्यो एमालेको छ । सिट कम होला तर प्रत्यक्ष जितेर आउने महिला प्रतिनिधिसभा सदस्य एमालेको बढी छ । कम छ त्यसलाई बढाउनुपर्छ थाहा छ । म भन्न चाहान्छु दलितको नाममा, महिलाको नाममा, मधेसको नाममा फेरि आगो बाल्न सकिन्छ कि भन्ने यदि दुष्प्रयत्न हो भने अब त्यो सफल हुँदैन ।’

उनले आफ्नो स्वार्थसिद्ध गर्नका लागि देशको राष्ट्रियतलाई उधिन्ने काम नगर्न पनि चेतावनी दिए ।

सांसद भट्टराईले संविधान संशोधनका लागि प्रधानमन्त्री दाहालको समेत सहभागिता र सहयोग चाहिने भन्दै यस बारेमा छलफल गर्ने बताए । उनले संविधान संशोधनभन्दा बाहिर गएर दाहालले विद्रोह गर्न सम्भव नभएको पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *