
तदर्थ सरकार सञ्चालन गर्ने कुनै रूचि थिएन, छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार सञ्चालन गर्न आफूलाई कुनै रूचि नभएको बताएका छन् ।
प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा विगतको राजनीतिक घटनाक्रम स्मरण गर्दै उनले यस्तो बताएका हुन् ।
‘नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन मलाई कुनै रूचि थिएन र छैन,’ प्रधानमन्त्रीले भने, ‘प्राविधिक तयारीका लागि समय आवश्यक हुँदैनथ्यो भने म भोलिपल्टै पनि विश्वासको मतका लागि तयार थिएँ । त्यसैले दश दिनभित्रै विश्वासको मत लिने जानकारी सदनलाई गराएँ ।’
देश बाढीपहिराको चपेटामा परेकाले सरकार चौबिसै घण्टा उद्धार र राहतका काममा लागिरहेका बेला सरकारलाई प्रभावहीन बनाउन प्रयास भएको उल्लेख गर्दै उनले नेकपा (एमाले) ले विश्वासको मत फिर्ता लिएपछि दीर्घकालीन असरका निर्णय र कुनै पनि नियुक्ति नगरिएको स्पष्ट पारे ।
विश्वासको मत र प्रधानमन्त्रीको पदका विषयमा आफू कहिल्यै चिन्तित नभएको बताउँदै उनले भने, ‘मैले विश्वासको मत पाउँला नपाउँला, म प्रधानमन्त्री रहुँला नरहुँला, त्यसमा म विल्कुल चिन्तित छैन र थिएन ।’
पछिल्ला घटनाक्रमबाट आफू चिन्तित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संसद्को पहिलो र दोस्रो ठूलो दल विश्वासले नजोडिएका टिप्पणी गरे । ‘सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दल मिलेर सरकार बनाउँदैनन् । संसारभरिका इतिहासका अनुभवले देखाएका छन्, त्यस किसिमका गठबन्धनले निरङ्कुशता बढाएका छन्, लोकतन्त्रलाई कमजोर बनाएका छन् । त्यसैले सामान्यतः यस्तो अभ्यास हुँदैन । हामीलाई पनि त्यही चिन्ता छ,’ उनले भने ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया