प्रतिनिधिसभामा विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल [LIVE]

प्रतिनिधिसभाको बैठक सुरू भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने कार्यसूची छ ।

सत्ता साझेदार प्रमुख घटक नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका दाहालले २०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि सरकार गठन भएयता पाँचौं पटक विश्वासको मत लिन लागेका हुन् । १८ महिनाको यस अवधिमा दाहालले नै सरकारको नेतृत्व गरिरहेका छन् ।

आज उनले विश्वासको मत लिन लागिरहँदा उनी पदमुक्त हुने सम्भावना निश्चितप्रायः छ । उनको पक्षमा माओवादी केन्द्रसहित राष्ट्रीय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) मात्र देखिएका छन् । यी तीन दलको मात्र ६३ सिट रहेको छ । कांग्रेस, एमाले, राप्रपासहितका अन्य साना दलहरू विपक्षमा उभिएकोले प्रचण्डले विश्वासको मत पाउने सम्भावना देखिएको छैन ।

नेपालको संसदीय इतिहासमा यसरी प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौं पटक विश्वासको मत लिनुपरेको सम्भवतः यो पहिलो घटना हो । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए । दुवै ठुला दलले आलोपालो सरकारको नेतृत्व लिने गरी सरकार गठनको सहमति र निर्णय गरेका छन् ।

दाहाल २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए । एमालेसहित एक सय ६९ सांसदको समर्थनमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उनले पहिलोपटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको जम्मा दुई सय ७० जना सांसदमध्ये दुई सय ६८ जनाको मत प्राप्त गरेका थिए । दुई जना सांसदले विपक्षमा मतदान गरेका थिए । त्यसको झन्डै साढे दुई महिनापछि एमालेलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०७९ साल चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए ।

त्यसबेला उनलाई प्रतिनिधिसभा बैठकमा उपस्थित दुई सय ६२ सांसदमध्ये कांग्रेससहित एक सय ७२ जनाले विश्वासको मत दिएका थिए भने विपक्षमा ८९ सांसदको मत परेको थियो । एक जना सांसदको तटस्थ मत रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *