कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा ओली नेतृत्वको सरकारमा नजाने

संसदको दोस्रो ठूलो दल नेकपा (एमाले) सँग नयाँ सरकार गठनको सहमति गरेको पहिलो ठूलो दल नेपाली कांग्रेसका दुई महामन्त्री सकारकमा सहभागी नहुने भएका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने भनिएको सरकारमा सहभागी नहुने भएका हुन् ।

कांग्रेस र एमालेबीच १७ असारमै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । प्रतिनिधिसभामा भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने कार्यसूची छ । उनले विश्वासको मत नपाए नयाँ सरकार गठनको प्रक्रिया सुरू हुनेछ ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले महामन्त्री र सांसदको काम गर्न आफूलाई भ्याइनभ्याइ रहेको बताएका छन् । ‘पार्टी सभापतिसहितका नेताहरूलाई मैले गराउनुपर्ने जानकारी गराइसकेको छु,’ उनले भने, ‘पार्टीको महामन्त्रीको रुपमा यो बाँकी रहेको समय काम गर्छु ।’

संसदको दुई ठूला दल कांग्रेस र एमाले मिलेर बन्ने सरकारलाई शक्तिको दुरूपयोग नगर्न सचेत गराउन पनि आफू सरकारमा जान नहुने महामन्त्री थापाको तर्क छ ।

अर्का महामन्त्री शर्माले पनि आफू अहिले सरकारमा नजाने बताइसकेका छन् ।

बुधबार झापा १ मा आयोजित कार्यक्रममा उनले भनेका थिए, ‘दुई ठूला दल मिल्दै गर्दा प्रतिपक्ष स्वर कमजोर हुन्छ भन्ने खालको बौद्धिक सर्कलको चासो र चिन्ता पनि छ । प्रतिपक्ष स्वर कमजोर हुन नदिन पनि सरकारमा म जान हुन्न ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर