मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित

मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

बिहीबार दिउँसो ४ बजे बस्ने गरी बोलाइएको बैठक करिब डेढ घण्टा ढिलो गरी सुरू भएको थियो । कोही पनि मन्त्री उपस्थित नभएपछि बैठक भोलि (शुक्रबार) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

बैठक प्रारम्भ हुनासाथ नेपाली कांग्रेसका सांसद रामहहिर खतिवडाले बैठकमा प्रधानमन्त्री तथा सरकारका मन्त्रीहरू अनुपस्थित भएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । उनले संसद बैठक चलेको दिन प्रधानमन्त्री र मन्त्रीहरू उपस्थित हुनुपर्छ भन्ने कुरा जानकारी छ कि छैन भनेर प्रश्न गरेका थिए ।

लगत्तै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम(५) बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको जानकारी गराए । उनले बैठकमा कुनै पनि मन्त्रीको उपस्थिति नरहेको भन्दै बैठक भोलि (शुक्रबार) बिहान ११ बजे बस्ने गरी स्थगित भएको घोषणा गरे ।

प्रतिनिधिसभाको भोलिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

यसअघि आजै बस्ने तय भएको राष्ट्रियसभा बैठक पनि मन्त्रीको अनुपस्थितिमा स्थगित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर