‘तीनै तहका कर्मचारीले समन्वय र सहकार्यका साथ काम गर्नुपर्छ’

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीनै तहका कर्मचारीहरूले आपसमा समन्वय एवं सहकार्य गरेर काम गर्नुपर्ने बताएका छन् ।

आज तेह्रथुममा आयोजित कार्यक्रममा उनले तीनै तह मिलेर काम गर्दा नागरिकलाई सहज हुने भएकाले समन्वयका साथ अगाडि बढ्न निर्देशन दिए। उनले सबै कर्मचारी जिम्मेवार नागरिकसमेत भएकाले सोहीअनुरूप सेवामा लाग्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले पहाडमा बसाइसराइको समस्या बढ्दै गएकाले त्यसलाई रोक्न ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना र अन्य पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न जरुरी रहेको धारणा राखे । “पहाडमा सडक र बाटो पुग्न थाले तर मानिसहरूचाहिँ झोला तुम्बा बोकेर मधेस झर्न थालेका छन् । यो चिन्ताको विषय हो । यसलाई रोक्न सबै लाग्नुपर्योे”, उनले भने, “नेपाल प्राकृतिक हिसाबले सुन्दर भएकाले कृषि पर्यटनमार्फत रोजगारी सिर्जना र आवश्यक पूर्वाधार विकास गरेर पहाडको बसाइसराइ रोक्ने काममा लाग्नुपर्ने आवश्यकता छ ।”

मुख्यमन्त्री कार्कीले असारमा विकासका काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आगामी साउनदेखि नै कार्ययोजना बनाएर रु एक करोडमाथिका योजना पहिलो चौमासिकदेखि नै कार्यान्वयनमा लैजाने बताए । त्यसका लागि आवश्यक पर्ने विधि प्रक्रिया टुङ्ग्याएर चाँडै काम सुरु गर्ने उनको भनाइ थियो ।

कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले जनताको भावना बुझेर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए । त्यसअवसरमा तेह्रथुमकी प्रमुख जिल्ला अधिकारी मीरा अर्यालले जिल्लाको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए भने तेह्रथुमका प्रदेशसभा सदस्य कमला दर्नाल र किशोरचन्द्र दुलालले पनि आफ्नो धारणा राखेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *