ट्रेड युनियन आन्दोलन विभिन्न समस्या र घेराबन्दीमा छ : अध्यक्ष कुँवर

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले ट्रेड युनियन आन्दोलन विभिन्न समस्या र घेराबन्दीमा रहेको बताएका छन् ।

बुधवार नेपाल ट्रेड युनियन काँग्रेसको रणनीतिक कार्ययोजना बैठकपछि कुराकानी गर्दै अध्यक्ष कुँवरले ट्रेड युनियन आन्दोलन विभिन्न प्रकारका समस्या र घेराबन्दीमा रहेको बताएका हुन् । उनले श्रमिकहरुको हक, अधिकार र सेवा, सुविधाको लागि थप आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताए । उनले आफूहरुको बैठकमा आएका प्रतिनिधिहरुले पनि ट्रेड युनियन आन्दोलनलाई जारी राख्नुपर्ने धारणा राखेका जानकारी दिए । श्रमिकहरुलाई विगतको जस्तो समस्या नपरेका कारण ट्रेड युनियन प्रति श्रमिकहरुको आकर्षण घटेको पनि बताए ।

उनले भने–‘आन्दोलित हुनुपर्ने अवस्था साथीहरुले बताइरहनुभएको छ । हामीले हाम्रो अधिकार रक्षाको लागि, सेवा, सुविधाको रक्षाको लागि र समग्र ट्रेड युनियन आन्दोलनको सुनिश्चितताका लागि थप आन्दोलन गर्नुपर्ने हो कि भन्ने साथीहरुको आवाज आएको हामीले पाएका छौँ । ट्रेड युनियन आन्दोलन विभिन्न खालको समस्या र घेराबन्दीमा छ । जुन ढंगले ट्रेड युनियन आन्दोलन अगाडी बढ्नुपर्ने हो त्यो ढंगले बढ्न सकेको छैन । हिजो श्रमिकहरुको न्युनतम ज्यालाको कुनै टुंगो थिएन । सामाजिक सुरक्षाको कुनै टुङ्गो थिएन र नियुक्ति पत्र, रोजगार सम्बन्धको कुनै टुंगो थिएन । हाम्रो कार्यक्षेत्र असुरक्षित थियो । हिजोको तुलनामा धेरै खालका सुधारहरु गरेका छन् । नीतिगत व्यवस्था कानूनी व्यवस्था र पूर्वाधारहरु बनाएका छौँ । ट्रेड युनियन अधिकारबाट प्राप्त हुनुपर्ने सुविधाहरु सहज ढंगले प्राप्त गर्ने वातावरण बनेको छ । त्यसो हुनाले ट्रेड युनियनप्रति उहाँहरुको आकर्षण घटेको हुनसक्छ । ट्रेड युनियन आन्दोलनमा पनि केही प्रश्नचिन्ह लागेको छ । कतिपयले ट्रेड युनियन आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा लिएका छन् । राजनीतिक आन्दोलनप्रतिको जुन किसिमको वितृष्णा छ, त्यसको सिकार ट्रेड युनियन आन्दोलन हुनुपरेको छ ।’

उनले ट्रेड युनियन आन्दोलनलाई राजनीतिक आन्दोलनमा रुपमा बुझिँदा पनि ट्रेड युनियन आन्दोलन राजनीतिको शिकार हुनुपरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *