रेडक्रस पारदर्शी छ, समाज कल्याण परिषद्ले भ्रम फैलाउन खोज्यो : अध्यक्ष नेपाल

नेपाल रेडक्रस सोसाइटीले समाज कल्याण परिषद्ले छानबिनको नाममा भ्रम सिर्जना गरेको भन्दै आपत्ति जनाएको छ । रेडक्रसले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समाज कल्याण परिषद्ले भ्रम फैल्याउने प्रयास गरेको आरोप लगाएको हो ।

समाज कल्याण परिषद्को हवाला दिँदै अनियमितता भएको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि आफूहरूले पनि त्यसको स्पष्टीकरण दिन बाध्य हुनुपरेको रेडक्रसका अध्यक्ष सुदर्शनप्रसाद नेपालले जानकारी दिए ।

उनले समाज कल्याण परिषद्ले आफूहरूसँग छलफलसमेत नगरी रेडक्रसको छानबिन प्रतिवेदन तयारी मिडियाहरूमा सार्वजनिक गरेको भन्दै आक्रोश व्यक्त गरे । अध्यक्ष नेपालले रेडक्रस पारदर्शी रहेको र आफूहरूले यसमा राजनीति घुसाउन नदिने बताए ।

‘हामी पारदर्शी छौं । हामीमा कुनै पनि किसिमको कपट छैन,’ अध्यक्ष नेपालले भने, ‘कसैलाई पनि हामी इर्ष्याकाे भावनाले हेर्दैनौं । त्यसैकारण हामीले भन्ने गरेका छौं पोलिटिसियन आर वेलकम बट नट पोलिटिक्स ।’

समाज कल्याण परिषद् रेडक्रसको नियमनकारी निकाय भए पनि उसले छलफलसमेत नगरी छानबिनको नाममा त्यस्ता काल्पनिक खालका मिथ्या र झुट समाचार विभिन्न सञ्चारमाध्यममा प्रसारण गराएको आरोप लगाए ।

पत्रकार सम्मेलनमा बाढी, पहिरो, डुबान लगायतका विपद्मा खोज, उद्धार र राहत वितरणका काममा रेडक्रसका स्वयंसेवीहरू परिचालन गरिएको र उनीहरू समुदायको जीवन रक्षाका लागि खटिरहेको जानकारी दिइयो । अध्यक्ष नेपालले बाढी, पहिरोलगायतका विपद्को यस घडीमा आफूहरूले जनजीवनलाई सहज बनाउन सक्दो काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

अध्यक्ष नेपालले रेडक्रस सोसाइटीको वर्तमान नेतृत्वले सुधारको काम धेरै गरेको दाबीसमेत गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर