बाढी-पहिरो अपडेट : हालसम्म ८३ जनाको मृत्यु, १०६ घाइते

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म ८३ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेस प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २३ जना, लुम्बिनी प्रदेशमा २२ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जनाको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साथै काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा ७ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ६ जना घाइते भएका छन् । घाइतहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ । बाढी, पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ५ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा १ सय ६१ घर डुबानमा परेका छन् । १ सय ४२ वटा घर, ५५ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ४ सय ११ वटा पशुचौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट २ हजार ९ सय ५४ घरपरिवार विस्थापित भएका छन् ।

साथै बाढी, पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा भइरहे्को छ । यस्तै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्यसमेत प्रहरीले गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *