मेलम्ची खानेपानी आयोजनाको हेडबक्स सारेपछि मात्रै काठमाडौंमा बाह्रैमास पानी आउने

मेलम्ची खानेपानी आयोजनाको हेडबक्स सारेपछि मात्रै काठमाडौं उपत्यकामा बाह्रै महिना पानी ल्याउन सकिने बताइएको छ । बुधबार राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले यस्तो बताएका हुन् ।

२०७८ असार १ गतेको प्राकृतिक विपद्ले कारण मेलम्ची खानेपानी आयोजनाको हेडबक्स क्षति गरेको थियो । त्यसयता हेडबक्स मर्मतसम्भारको काम भइरहेको छ । वर्षातको समयमा पानी पठाउँदा थप क्षति हुन सक्ने भन्दै गत असार १० गतेदेखि मेलम्चीको पानी काठमाडौं ल्याउन बन्द गरिएको छ ।

बैठकमा बोल्दै सचिव आचार्यले काठमाडौंमा दीर्घकालसम्म पानी खुवाउनका लागि हेडबक्स सार्नुपर्ने अवस्था रहेको बताए । उनले साविककै हेडबक्सबाट वर्षातको समयमा पानी खुवाउन नसकिने स्पष्ट पारे । उनले एडीबीले मेलम्ची खानेपानी आयोजनाका लागि २ अर्ब रूपैयाँ अनुदान दिन लागेको जानकारी पनि दिए ।

त्यस्तै मेलम्ची खानेपानी आयोजनाका प्रमुख रत्न लामिछानेले पनि मेलम्ची खानेपानी आयोजनाको हेडबक्स कडा चट्टान भएको स्थानमा सार्नुपर्ने बताए । उनले हेडबक्स सार्नका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति पाइसकेको जानकारी गराए ।

उनले मेलम्चीबाट कुनै प्रशोधनबिना पानी काठमाडौं पठाइरहेको अवस्थामा वर्षातको समयमा पानी पठाउँदा टनेलमा गेगर र माटो जमेर क्षति हुन सक्ने भएकाले वर्षातको समयमा पानी नपठाइएको बताए । उनले बाढी घट्नासाथ भदौबाट मेलम्चीको पानी काठमाडौं पठाइने बताए ।

त्यस्तै बैठकमा बोल्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले भूमिगत र सतह स्रोतबाट १० करोड लिटर पानी संकलन गरेर ६ देखि १२ दिनको अन्तरालमा काठमाडौं उपत्यकामा पानी वितरण गरिएको जानकारी दिए । उनले वर्षातको समयमा स्थानीय स्रोतहरूबाट समेत पानी धमिलो आउने हुनाले पानी वितरणलाई निरन्तरता दिन नसकिएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *