सहकारी छानबिन समितिले जेलमा भएका सहकारी सञ्चालकहरूसँग पनि सोधपुछ गर्ने

सहकारी संस्था बचत रकम दुरूपयोग संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले जेलमा भएका सहकारीका सञ्चालकहरूसँग पनि सोधपुछ गर्ने बताएका छन् ।

बुधबार सहकारी पीडितहरूसँगको छलफलमा बौल्दै सभापति थापाले कानुनअनुसार जेलमा भएका सहकारी सञ्चालकहरूलाई पनि सोधपुछ गरी तथ्य प्रमाणहरू खोजिने बताएका हुन् ।

उनले विदेशमा भएका सहकारी ठगहरूलाई नेपालमा ल्याउन प्रधानमन्त्रीसँग माग गर्ने बताए । उनले सरकारले र संसदले गर्ने काम फरक हुने भन्दै सहकारीपीडितहरूलाई न्याय दिलाउने गरी काम गर्ने बताए ।

‘हामी सबै सहकारीका समस्या बारेमा जानकारी लिने अन्तिमतिर छौं । जेलमा भएका सहकारी सञ्चालकहरूसँग पनि कानून अनुसार रहेर सोधपुछ गर्छौं,’ सभापति थापाले भने, ‘विदेशमा भागेर बसेकाहरूलाई पनि नेपालमा ल्याउन प्रधानमन्त्रीलाई भन्छौं । सरकार र संसदको काम गर्ने तरिका फरक हुन्छ, त्यो देखाउँछौं ।’

उनले समितिले पूरा नहुने आश्वासन दिनेभन्दा पनि वास्तविकतामा आधारित भएर काम गर्ने बताए । उनले सरकारको तर्फबाट भएका ‘लुपहोल’ हरू पनि समितिले खोजिरहेको बताए ।

उनले सहकारी क्षेत्रमा देखिएको समस्या वास्तविक सहकारीको कारणले नभई सहकारीका माध्यमबाट बचतको अपचलन ठगी गर्ने नियतका साथ आएका केही सहकारीका कारणले भएको बताए । उनले समितिले पनि यही कुरामा बढी केन्द्रित भएर तथ्यहरू जुटाइरहेको बताए ।

उनले एउटै मान्छे चितवनमा कोषाध्यक्ष, पोखरामा अध्यक्ष र नेपालगञ्जमा उपाध्यक्ष, अर्को ठाउँमा ऋण समितिको सदस्य हुने विषयलाई पनि समितिले गम्भीर रूपमा अध्ययन गरिरहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर